काठमाडौँ, १६ माघ : जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसलाको पूर्णपाठमा पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
“निजको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको तथा पारिवारिक अवस्था पनि राम्रो नरहेको भन्ने देखिन्छ”, पूर्णपाठकमा भनिएको छ, “सो कुरा घटना विवरण कागज गर्ने देव खनालले बकपत्र गर्दा ‘आफ्नो पारिवारिक स्थिति राम्रो छैन भनेर भन्थिन, आर्थिक सहयोग खोजिरहेको कुरा गर्थिन ।”
पूर्णपाठमा गौशाला २६ लाई बालिग ठहर गरेको क्रिकेटर लामिछानेले खेलाडीको रुपमा प्राप्त गरेको प्रसिद्धिको दुरुपयोग गरी पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै भेट गर्ने, घुमाउने अनि होटलमा एउटा मात्र कोठा लिएर गरेर करणी गर्ने मनसाय बनाएको उल्लेख छ ।
अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कार गरेको उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
निजविरुद्ध अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौँमा दायर गरेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा गत पुस २८ मा न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको भए पनि विदेश जान रोक लगाइएको थियो । लामिछानेले विदेश जान अनुमति माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गत फागुन १५ गते लामिछानेलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो । अदालतले पूर्णपाठ सार्वजनिक भएसँगै क्रिकेटर लामिछाने फैसला चित्त नबुझेमा उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्नेछन् ।
पुनरावेदनको बाटो खुल्यो
जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्दै जेल सजाँय किटान गरेसंगै लामिछानेका प्रतिरक्षी वकिलहरुले आफ्नो पक्षले न्याय नपाएको भन्दै जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन जाने पहिल्यै बताएका थिए ।
जिल्ला अदालतले यस प्रकरणमा नाबालिक भनिएका गौशाला २६ सांकेतिक नामकी किशोरीको उमेर पुगेको ठहर गरेको छ । यस प्रकरणमा यौन दूराचारमा परे भनेर उजुरी दिएकी किशोरीको उमेर बालिक हो वा नाबालिग भन्ने सबाल महत्वपूर्ण थियो ।
उमेर पुगेका पुरुष र महिलाले राजीखुसीले राखेको यौनसम्पर्क दण्डनीय अपराध नहुने कुरा सर्वोच्च अदालतले ब्याख्या गरिसकेको छ । अन्नपूर्णा राणाले आफूले माइतीतर्फको अंश दावी गर्दै दिएको रिटका विषयमा फैसला हुँदा उमेर पुगेका स्त्री र पुरुषका बीचमा आपसी सहमतिमा हुने शारीरिक सम्बन्ध दण्डनीय अपराध नहुने ब्याख्या भएको थियो । अन्नपूर्णालाई आफ्नै आमाले उनको अन्य पुरुषसंग विवाह भैसकेको र जायजन्म पनि दिइसकेकोले उनको यौनांग परीक्षण गराइ पाउन माग गर्नुभएको थियो । तर अदालतले उमेर पुगेका स्त्री र पुरुषका बीचमा आपसी सहमतिमा हुने यौनसम्पर्क दण्डनीय अपराध मान्न नसकिने ब्याख्या गरेको थियो ।
सन्दीपका सन्दर्भमा पीडित भनिएकी किशोरीको उमेर १८ बर्ष पुगेको अदालतले ठहर गरेकोले अब उनीहरुबीच सहमतिमा भएको शारीरिक सम्पर्कलाई दण्डनीय अपराध मान्न सकिने अवस्था विद्यमान रहेन । यस प्रकरणमा नेपाली राष्ट्रिय टीमका तात्कालीन क्याप्टेन सन्दीपलाई बन्द प्रशिक्षण शिविरमा रहेको बेलामा केही क्षणको लागि किशोरीबाट बोलाइएको छ । दिनमा घुम्न प्रस्ताव गरिएको छ । काठमाडौंबाट नगरकोट जाँदा र फर्किदा कतै पनि प्रहरी वा सर्वसाधरणसंग आफूलाई जबरजस्ती घुमाउन ल्याएको रिपोर्ट गरिएको छैन । साँझ काठमाडौं फर्केपछि डेरा(होस्टल)मा छोडिदिन्छु भन्दा अबेर भएकोले जान आनाकानी गर्दै संगै बस्ने प्रस्ताव किशोरीबाट आएको छ । होटलमा जाँदा दुवैजना हासीखुसी गएका छन् । बेलुका एकै कोठामा बसेका छन् । राति एकसाथ बस्दा होटलको रुमसर्भिस वा रिसेप्सन वा गेष्ट रिलेसन कतै उजुरी छैन् । बिहान दुबै जना हासीखुसी विदा भएका छन् । छुटेपछिका केहीदिनसम्म साथीहरुसंग राष्ट्रिय क्रिकेट टिमको कप्तानसंग घुम्न पाएकोमा गर्व गर्दै खुसी बाडिएको छ ।
झण्डै तीन हप्तापछि एकाएक अरु कसैको बहकाउमा लागेर उजुरी गरिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रिकेटबाट नेपालको नाम पनि राख्दै आफ्नो वृत्तिविकास र आर्थिक समुन्नति एकसाथ गरिरहेको अविवाहित युवकलाई बदनाम गरेर उसको खेलजीवन समाप्त पार्ने तथा नेपाली क्रिकेटलाई उभो लाग्न नदिन अग्रसर केही व्यक्तिहरुले गौशाला २६ भनिएकी युवतिलाई उपयोग गरेको देखिन आउछ ।
पीडित भनिएकी युवतीको उमेर १८ बर्ष पुगेकोले उच्च अदालतमा पुनरावेदन गर्दा सन्दीपले सफाई पाउने संभावना प्रबल देखिएको छ ।