काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छिन् ।
साम्बाले शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेसँगै उनले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पक्का भएको हो ।
यस पहिले इजरायलको हापोएल रानानासँग खेल करार गरेकी साबित्रा फ्रान्सेली क्लब र हापोएल रानानाबीच सहमति भएपछि भण्डारी सोमबार त्यसतर्फ प्रस्थान गरिसकेकी छन् ।
युद्धका कारण इजरायल जान रोकिएकी साम्बाले त्यहाँ छोटो समयमा जमेको प्रभावले फ्रान्सको यात्रा तय गरेकी हुन् ।
सावित्राले ग्वेंगाम्पमा २८ नम्बर जर्सी प्रयोग गर्नेछिन् । क्लबले उनको अनुबन्धन घोषणा गरेसँगै अब शनिबार हुने लिग खेलका लागि उनी छनोट हुने सम्भावना छ । अंक तालिकाको तल्लो भागमा रहेको ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ ।
ग्वेंगाम्प लिगको १२ खेलमा २ जित,२ बराबरी र ८ हारका साथ ८ अंक जोड्दै दशौं स्थानमा छ । बोर्डोको १२ खेलमा ५ अंक छ । १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ ।
फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ । ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छ ।


















