नयाँदिल्ली(भारत), १९ माघ । भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले आज राजधानी नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
उक्त भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशङ्करले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ।
भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल यही माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो।
यसअघि भारत यात्रामा रहेका नेपालका ८ जना सांसदहरूको टोलीले त्यहाँस्थित लोकसभाका अध्यक्षसँग भेटवार्ता गरेको थियो।
नेपाली प्रतिनिधि मण्डल भारतीय लोकसभाको विदेश मामिला समितिको निम्तोमा त्यहाँ पुगेको थियो। अनुभव आदानप्रदानका लागि यो भ्रमण गरिएको समितिका सभापति यादवले मंगलबार नयाँ दिल्लीस्थित पत्रकारहरूसँग बताउनुभएको थियो।
सभापति यादवले लोकसभाले गरेको निम्तो मान्न आफूहरू भारत भ्रमणमा निस्किएको र भारतीय लोकसभाको अभ्यास हेरेर धेरै सिक्न सकिने बताउनुभएको थियो।
समितिका सभापति यादवको नेतृत्वमा भारत यात्रामा रहेका नेपाली संसदीय टोलीमा सांसदहरू छिरिङ शेर्पा, हरिप्रसाद उप्रेती, शिशिर खनाल, योगेश गौचन, सम्झना थपलिया, गंगाराम चौधरी र सुनिता बराल रहनुभएको छ।
यो टोलीमा संसदीय समितिका समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि हुनुहुन्छ।
नेपाली टोली नयाँ दिल्लीमा राजनीतिक संवाद सकेर पर्यटकीयस्थल गोवा पनि जाने भएको छ। त्यहाँपछि मुम्बई, लखनऊ र हिन्दु धर्मावलम्बीको तीर्थस्थल बनारस पनि यो टोली जाने बताइएको छ।