Prakash Adhikari February 2, 2024

ब्लोइमफोन्टिन(दक्षिण अफ्रिका),१९ माघ । आईसीसी यू -१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा नेपाली टोली भारतसंग १ सय ३२ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाको ब्लोइमफोन्टिनस्थित  माङ्गाउगं ओभल क्रिकेट मैदानमा  भएको खेलमा टस हारेर फिल्डिड. मा परेको नेपालले भारतबाट जितको लागि २ सय ९८ रनको लक्ष्य पाएको थियो ।

तर ५० ओभरको निर्धारित खेलमा नेपालले सो लक्ष्य हासिल गर्न सकेन । नेपालका शीर्ष र मध्यतहका ब्याटरहरु फ्ल्प भएपछि नेपालले पूरै ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रनमात्रै जोड्न सक्यो ।

सुपर सिक्समा पुगे पनि आफूले समूह चरणमा पराजित गरेको अफगानिस्तान सुपरसिक्समा पुग्न नसकेकोले जितको अंक लिन नपाएको नेपाल सुपरसिक्समा आफूले खेल्ने बंगलादेश र भारतको खेल जिते पनि अगाडि जान नसक्ने अवस्थामा थियो । त्यसैले नेपाली खेलाडीमा ठूलो उत्साह त थिएन । तर जर्सी लगाएर क्रिकेटको बल र ब्याट लिएर मैदानमा उत्रेपछि प्रतिस्पर्धीलाई पराजित गर्ने जोश भने घटेको थिएन ।

आजको खेलमा नेपाली कप्तान देव खनालले ३३,दुर्गेश गुप्ताले २९,अर्जुन कुमाले २६, दिपक बोहोराले २२, आकाश चन्दले १८, उत्तम मगर ८, सुवास भण्डारी ५ रनको योगदान दिए । विशाल विक्रम र गुल्शन झाले १ । १ रन जोडे । दीपक डुम्रे र दीपेश कँडेल खाता नखोली आउट भए ।

३८.५ ओभरमा कप्तान देव खनाल आउट भएपछि १२१/९ को स्थितिमा रहेको खेललाई अन्तिम प्राथमिकतामा रहेका आकाश चन्द र दुर्गेश गुप्ताले पूरै ओभर खेल्दै १६५/९मा पुर्याए ।

नेपाललाई रोक्ने क्रममा भारतका सौमी पाण्डेले ४,अश्विन कुलकर्णीले २, राज लिम्बानी आराध्य शुक्ला र मुरुगन अभिशेषले एक एक विकेट लिए ।

यस अगाडि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनायो ।

भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए ।

नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

विश्वकप जस्तो प्रतिष्ठित प्रतियोगिताका प्रायः सबै खेलमा नेपालका ब्याटर र बलरहरुको कमजोरी छताछुल्ल देखियो । नेपाली खेलाडीहरुले एशिया कपमा जुन गल्ती दोहोर्याएका थिए, विश्वकपमा पनि त्यही दोहोर्याए ।

यू १९ को एशिया कप र विश्वकपले टोलीका प्रशिक्षकको पनि विस्थापन हुनुपर्ने आवश्यकता औल्याएको छ । प्रशिक्षक टमाटालाई उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै ससम्मान विदा दिएर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक ल्याउन बिलम्ब गर्ने हो भने भोलि राष्ट्रिय टिम पनि बलियो हुन सक्दैन । किनकी यु १९ नै राष्ट्रिय टिममा जाने ब्यवसायिक खेलाडीहरुको टोली हो । यसमा गरेका लगानीले लामो समयसम्म प्रतिफल दिन्छ । हालको राष्ट्रिय टिममा पनि यू १९ बाट गएका खेलाडीहरुकै बर्चश्व रहेको छ ।

Share Now