Prakash Adhikari February 3, 2024

काठमाडौं,२० माघ । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गर्नुभएको हो ।

मेला यहि माघ १८ बाटसुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएका छन् । मेलामा १४ उद्योगका ३० भन्दाबढि ब्राण्डका३ हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल प्रदर्शनीमा राखिएको छ ।

नेपाली ब्राण्डका जुत्ताको प्रचार÷प्रसार गरी आम उपभोक्ता माझ पुर्याउने मुल उद्वेश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरी महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिकलगायत सबै उमेर समूहका उपभोक्ता÷प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ । करिब एक सयभन्दा बढि स्टलहरुमा नेपाली ब्राण्डका जुत्ता चप्पल सजिसजाउ गरेर राखिएको छ ।

एउटै छानामुनी सबै उमेर समूहलाई सुहाउँदो १४ उद्योगका ३० भन्दाबढि ब्राण्डका ३ हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल कारखानाकै मूल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था समेत गरेकोले ग्राहकहरुलाई लाभैलाभ प्राप्त हुने मेला संयोजक दिवाकर गिरीले जानकारी दिनुभएको छ ।

यो मेलामा चावहिल, गौशाला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका सबैक्षेत्रका आम उपभोक्तालाई जोड्ने मुख्य लक्ष्य राखि प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको उहाँको जिकिर छ ।

विगतमा पनि देशभरका विभिन्न स्थानहरुमा नेपाली जुत्ता चप्पलको मेला महोत्सव गर्दै आएको जुत्ता चप्पल व्यवसायीहरुले यस वर्ष पनि विभिन्न स्थानमा जुत्ता चप्पल मेला आयोजना गरिरहेका छन् ।

गुणस्तरीय नेपाली जुत्ता चप्पल उत्पादन गरि स्वदेशी वस्तुको प्रयोग बढाउन फुटवयर क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता चप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईले बताउनुभयो।

नेपाली फुटवेयर उद्योगको बार्षिक उत्पादन क्षमता १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा ६ करोड मात्र रहेको उहाँले जानकारी दिनुभयो । उहाँले नेपाली उत्पादन उपभोक्तामाझ पुर्याउन अझै यसलाई सबल बजारीकरण आवश्यक भएको भन्दै विभिन्न स्थानहरुमा प्रदर्शनी तथा मेला गरेर त्यो अभाव पूर्ति गर्नुपर्नै पनि बताउनुभयो ।

उहाँले राज्यले व्यवसायीलाई संकट परेको बेला नीति बनाई विशेष प्याकेज ल्याउनु पर्नेमा उल्टो अपराधी जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो ।

मेलमा सुरभी पोलिमर्श कम्पनीका हाई लाइफ, पवित्र शु इण्डष्ट्रिजका शु ल्याण्ड, फुट फेशनका बेली, बोस शुज कलेक्शनका बोस शुज, वेलकम शुज कलेक्शनका आइडल, फुटमाण्डु शुजका भेनस, नमस्ते फुटवयरका सिल्स, हिमानी कलेक्सनका हिमानी, सुबोध एण्ड सुस्मिता ट्रेड्सका वन वल्र्ड, बज्र फुटवयर इण्डष्ट्रिजका कोसेली, रन शुज इण्डष्ट्रिजका रन शुज, शिखर शुज इण्डष्ट्रिजका शिखर शुज, पारागन फुटवयर इण्डष्ट्रिजका पिजी शुज, नियशा शुज इण्डष्ट्रिजका ब्याम्बो शुज लगायतको कम्पनी तथा ब्राण्डका राखिएका छन् ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले संकटग्रस्त अवस्थामा पनि राज्यले व्यवसायीहरुलाई निकृष्ठ व्यवहार गरेको बताउनुभएको थियो । आर्थिक गतिविधिलाई चलयमान बनाउन सरकारले व्याजदर केहि घटाए पनि त्यो प्रयाप्त नभएको उहाँको बुझाई छ । राज्यले व्यवसायीको समस्या नबुझ्दा कालोसुचीमा पर्ने, कारवाहीमा गर्ने गरेको उहाँले बताउनुभयो । उद्योग चल्दा र व्यवसाय राम्रो हुँदा राज्यलाई कर तिरेका व्यवसायीमाथि समस्या आउँदा र संकटग्रस्त हुँदा राज्यले पनि विशेष नीति ल्याई व्यवसायीको मर्का बुझ्नु पर्ने सरकारको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो । एक महिने मेलामा करिब ५ करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोर भन्दाबढि जुत्ता चप्पल बिक्री हुने अनुमान गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Share Now