Prakash Adhikari February 6, 2024
चन्द्रगढी(झापा), २३ माघ । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालालाई कार्यकर्ताले आगामी चुनावमा गठबन्धन नगर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत  झापाको दमकमा सोमबार आयोजित सुझाव सङ्कलन तथा अन्तरक्रियामा अगुवा कार्यकर्ताहरुले उहाँलाई सो सुझाव दिएका हुन् ।
उहाँलाई कार्यकर्ताहरुले भ्रातृ सङ्घहरुको गठन र परिचालनमा ध्यान दिइनुपर्ने, समय– समयमा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुको भूमिका सशक्त बनाइनुपर्ने, कांग्रेसले गरेका कामको प्रचारप्रसार उल्लेख्य मात्रामा हुनुपर्ने, चुनावमा टिकट वितरण गर्दा पहुँच र पैसालाई प्राथमिकता दिन नहुने तथा उम्मेदवारको लोकप्रियतालाई ध्यान दिनुपर्ने लगायत विविध सुझाव प्रस्तुत गरेका थिए ।
जवाफमा डा कोइरालाले आगामी दिनमा पार्टी कार्यकर्ताको भावनाको कदर गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले हाल मुलुकले अपनाएको राजनीतिक पद्धतिमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको भन्दै निर्वाचन पद्धतिबाट यसमा सुधार गर्न सकिने बताउनुभयो ।
उहाँले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरी व्यवस्था मिलाउन आफ्नो पार्टीले नीतिगत पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । महिला–महिला, दलित–दलितमा र जनजाति–जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ ।”
नेता कोइरालाले समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधिसभामा भने प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रियामा झापाको माईपश्चिम भूगोल दमक, कमल, गौरादह र शिवसताक्षी नगरपालिकाका २३ जना अगुवा नेता–कार्यकर्ताले नेता कोइरालासमक्ष सुझावहरु राखेका थिए ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला तहबाट पार्टीले सञ्चालन गरिरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभएको थियो ।
Share Now