काठमाडौं, २३ माघ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमानको सञ्चालक नेपाल वायुसेवा निगमले आफ्ना गन्तव्य विस्तार गर्ने र भैरहेका १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित र भरपर्दो सेवा विस्तार गर्नका लागि दुईवटा न्यारोबडीका विमान भाडामा लिन टेण्डर आह्वान गरेको छ ।
आज द राईजिड. नेपाल र आफ्नै वेभसाइटमा एक सूचना प्रकाशित गर्दै निगमले २२ मार्चको अन्तिम मिति दिएर प्रस्ताव आह्वान गरेको हो ।
निगमले विमान निर्माता, विमान सञ्चालक र विमान भाडामा लगाउने कम्पनीहरुलाई विमान कर्मचारी, मर्मतसंभार,बीमासहितको विमान एक बर्षको लागि दिने भाडादर प्रस्ताव गर्न भनेको छ । तर भाडामा लिइएको विमानको समयावधि बढाइन सकिने पनि जनाइएको छ ।
निगमले भाडामा लिने जहाज उत्पादन भएको १४ बर्षभन्दा पुरानो हुन नहुने, जहाजमा आकास्मिक अवस्थाका लागि सम्पूर्ण जीवनरक्षक उपकरण हुनुपर्ने, सम्पूर्ण नेभिगेटिड., इन्ट्रुमेन्ट एप्रोच, उडान अभिलेख उपकरण, अक्सिजन र यसलाई वितरण गर्ने उपकरण, उडान नियन्त्रण उपकरण हुनुपर्ने र हरेक जहाजमा पर्याप्त ग्याली उपकरण हुनुपर्ने उल्लेख गरिएको छ ।
भाडामा लिने जहाज दागबिहिन सफा, नचुहिने, सबै यन्त्र र उपकरणहरु सेवा दिन योग्य, सुरक्षित हुनपर्ने पनि निगमले जनाएको छ ।
भाडामा लिइने नयाँ विमानहरु काठमाडौं बैंगलोर,कोलम्बो, क्वाललम्पुर,हंगकंग, बैंकक र दोहा रुटमा उडान गरिने जनाइएको छ।
भाडामा दिने कम्पनीको वैध हवाई सञ्चालन इजाजत, दर्ताको वैध प्रमाणपत्र, उडान योग्यताको प्रमाणपत्रको वैधता, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी र अमेरिकाको संघीय उडान प्राधिकरणको उडान प्रमाणपत्र प्राप्त गरेको ,तेस्रो मुलुक दर्ता भएको, नेपालको नागरिक उड्डयन प्राधिकरणका उडान अनुमति प्राप्त गरेको हुनुपर्ने पनि निगमले जनाएको छ ।
प्रत्येक विमानले दैनिक १२ घण्टा ७ मिनेट, साप्ताहिक ८४ घण्टा ५५ मिनेट र मासिक ३६३ घण्टा ५५ मिनेट ४३ सेकेण्ड औसत उडान गर्ने जनाइएको छ ।
निगमले भाडामा लिइने जहाजहरु आगामी जुलाई अर्थात असार साउनदेखि सेवा लिने जनाएको छ ।
निगमले एक चरण दुई खामे पद्धतिमार्फत प्रस्ताव माग गरेकोले विमान भाडामा दिन प्रस्ताव गर्ने कम्पनीले प्राविधिक र आर्थिक प्रस्तावहरु अलगअलग तर एकै चरणमा पेश गर्नुपर्ने हुन्छ ।


















