क्वालालम्पुर(मलेशिया), २८ माघ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तरगत आज भएको खेलमा नेपाली चेलीहरुले भुटानलाई पराजित गरेका छन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ।
आइतबार बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो।
यसअघि शनिबार भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङलाई पनि ८ विकेटले नै पराजित गरेको थियो।
आजको खेलमा टस जितेर फिल्डिड. रोजेको नेपाललाई भुटानले ६६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले ११.५ ओभरमा २ विकेटको क्षतिमा सो लक्ष्य हासिल गरेको थियो । खेलमा नेपालकी सीता रानामगरले ३२ र रुविना क्षेत्री १७ रन, ओपनर कविता कुवँरले ५ रन र कप्तान इन्दु बर्माले १ रनको योगदान दिएका थिए ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो।
भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन , कप्तान डेचेन वाङ्गमोले १७ र छिरिङ जान्ग्मोले १६ रन बनाए भने यासी छोडेन, सोनम छोडेन र अञ्जु गुरुङले समान एक एक रन बनाए।
भुटानलाई रोक्ने क्रममा कविता कुँवर, सीता रानामगर, इन्दु बर्मा र कविता जोशीले समान एक एक विकेट लिएका थिए।
लगातार दोस्रो जित निकालेसँगै २ खेलबाट ४ अंक बनाउँदै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ। भुटान २ अंकसहित दोस्रो स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्ससँग खेल्नेछ।
नेपाल रहेको समूह डी मा हङकङ, भुटान र मालदिभ्स छन्।
प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन्।


















