Prakash Adhikari February 23, 2024
दमौली(तनहुँ), ११ फागुन : तनहुँको दुलेगाैँडा हुँदै स्याङ्जाको रामबाछा जोडिने नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पूर्वाधार विकासका लागि योजना छनोटको तयारी गरिएको छ ।
पदमार्गको पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा नेपाल पर्यटन बोर्डले रु ५० लाख विनियोजन गरेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका अत्यावश्यकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरी स्थलगत अनुगमन गरेको हो ।
योजना छनोटका सन्दर्भमा यसअघि गत माघ २२ गते समितिले पदमार्ग क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालक एवं सरोकारवाला निकायसँग छलफल गरेको थियो ।
योजना छनोटका लागि स्याङ्जातर्फ वालिङ नगरपालिका–३ बुढाकोट, वडा नं ४ एलादी क्यानोनिङ, बिरुवा गाउँपालिका–७ स्थित कुमेर्दुङ, वडा नं ८ स्थित भासिपोखरी, भिर्कोट नगरपालिका–२ स्थित केगा देउराली, वडा नं ३ स्थित कोखे झरनाको स्थलगत अवलोकन गरिसकिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।
शुक्लागण्डकी नगरपालिका–११ स्थित गोकुल पार्क, एक्लेडाँडा, लामागाउँस्थित तमु सङ्ग्रहालय जानेबाटो तथा पार्कलगायत स्थानको पनि स्थलगत अनुगमन गरिएको बताउँदै उहाँले यीमध्ये अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने स्थानमा योजना सञ्चालन गरिने जानकारी दिनुभयो ।
पर्यटन मन्त्रालयबाट पदमार्गका लागि प्राप्त रु २० लाख अन्तर्गत पुतलीबजार नगरपालिका–१२ स्थित गैरै स्वाँहाराबाट बानेथोक देउरालीसम्म  बाटोका लागि रु १० लाख विनियोजन गरी काम सम्पन्न भएपछि समितिले स्थलगत अनुगमन गरेको महसचिव गुरुङले जानकारी दिनुभयो । मन्त्रालयबाट प्राप्त रकममध्ये १० लाख शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा  सिँढीबाटो निर्माण गरिएको उहाँले बताउनुभयो ।
पछिल्लो समयमा पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।
Share Now