Prakash Adhikari February 23, 2024

जेद्दाह(साउदी अरेबिया), ११ फागुन । दोस्रो खेलमा प्रतिद्धन्दी इराकलाई शून्यका विरुद्ध ५ गोलले पराजित गर्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सावित्रा भण्डारी ‘साम्बा’ ले ५ गोल गरेसँगै नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध फराकिलो जित हासिल गरेको हो।

पहिलो हाफमा चार गरी कुल ५ गोल गरेसँगै भण्डारीले आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ५० गोल पुर्याएकी छन् ।

साउदी अरेबियाको जेद्दाह शहरमा भएको खेलको सुरुमा पकड जमाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण गर्यो ।

सातौं मिनेटमा नेपाल गोलको निकट पुगेर पनि चुक्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्सभित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो ।

नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो । ११औं मिनेटमा साम्बाको फ्रिकिक पनि पोस्टमाथि हुँदै बाहिरियो ।

१४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको पासमा आफ्नो तीव्र गतिको प्रयोग गर्दै उनले सुन्दर गोल गरिन् ।

१६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्सभित्र नै बल खोसेर साम्बाले नेपालको अग्रता दोब्बर बनाइन् ।

१९औं मिनेटमा रेखाले गोल गर्ने राम्रो अवसर खेर फालिन् । उनको प्रहार गोलरक्षक जाहरा अल सदेइले बचाइन् । २१औं मिनेटमा प्रिती राईले साम्बाको पासमा गरेको प्रहार पनि अल सदेइले बचाइन् ।

२६औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट पोस्टमा प्रहार गरिन् । पहिलो खेलमा उनले सिधै कर्नरबाट गोल गरेकी थिइन् । रिबाउन्डमा साम्बाले पोस्टभन्दा माथि प्रहार गरिन् ।

२८औं मिनेटमा अनिता बस्नेतले बक्सको दायाँ भागबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।

३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडमार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् ।

४४औं मिनेटमा साम्बाले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो प्रयासमा उनले गोल गरिन् ।

४८औं मिनेटमा अमिषा कार्कीको प्रहार अल सदेइले बचाइन् । ६०औं मिनेटमा प्रितीले बक्सको छेउबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ६८औं मिनेटमा प्रितीकै फ्रिकिक गोलमा परिणत हुन सकेन ।

८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन् । प्रितीको थ्रुपासमा साम्बाले एकै खेलमा पाँचौं गोल गरिन् ।

नेपाल सेमिफाइनलमा

नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४- १ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।

प्यालेस्टाइनले दोस्रो खेलमा सिरियालाई पराजित गरेको छ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३ -० को जित निकालेको थियो ।

अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुंगो लागेको हो ।

८ राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समुहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४ १ तथा दोस्रो खेलमा इराकलाई ५ ० ले हराउँदै ६ अंक जोडिसकेको छ ।

यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३ ० तथा दोस्रो खेलमा सिरियालाई १ ० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अब समूह चरण अन्तर्गत शनिबार सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । प्यालेस्टाइनले अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ । नेपाललाई भने समूह विजेता बन्न बराबरी पर्याप्त हुनेछ ।

यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । शुक्रबार हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।(स्रोतःहाम्रो खेलकुद)

Share Now