Prakash Adhikari February 27, 2024

काठमाडौँ, १५ फागुन । उच्च अदालत पाटनले व्यवसायी मीनबहादुर गुरुङले ललिता निवास क्याम्पाभित्र पर्ने जग्गा खरिद गरी सञ्चालन गरेको भाटभटेनी डेभलपर्स प्रालि तत्काल खाली गराउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेर निर्माण गरएको भाटभटेनी सुपर मार्केटको गोदाम लगायतका संरचना तत्काल खाली गराउने काठमाडौँ महानगरपालिकाको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

उक्त अदालतले व्यवसायी गुरुङको र गुरुङका नातेदार सरला घले गुरुङको नाममा अन्तरिम आदेश गरेको छ । काठमाडौँ महानगरपालिकाले भाटभटेनीको संरचना सबै खाली गराउने सूचना निकालेपछि निषेधाज्ञाको आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

Share Now