पाँचखाल (काभ्रे), २१ फागुन : संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास ४’ सम्पन्न भएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालित चौथो संस्करणको उक्त तालिमको आज एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले समापन गर्नुभयो ।
संयुक्त राज्य अमेरिका सरकारको इण्डो प्यासिफिक कमाण्डअन्तर्गतको ‘ग्लोवल पीस अपरेसन इनिसियटिभ’को आर्थिक सहयोग तथा नेपाली सेनाको आयोजनामा उक्त अभ्यास सञ्चालन भएको थियो । तालिममा संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका नेपालसहित १८ राष्ट्रका एक हजार एकसय २५ सैनिकको सहभागिता रहेको थियो । यही फागुन ८ देखि २१ गतेसम्म अभ्यास शान्ति प्रयास तालिम भएको हो ।
नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । अभ्यासबाट शान्ति स्थापनामा देखापरेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबीच अनुभव आदानप्रदानका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
अभ्यासका क्रममा स्थलगत परिचालन, कार्यालयसम्बन्धी काम र अनुभव आदानप्रदानसम्बन्धी विषय सञ्चालन भएको सेनाले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि गर्बिलो साथ र सहयोग रहँदै आएको छ । नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसङघको झन्डामुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन गरेको छ ।
सो अवसरमा प्रधानसेनापति शर्माले नेपाली सेनाले विश्वशान्ति प्रयासका लागि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहभागितालाई महत्व दिँदै आएको बताउनुभयो । उहाँले अभ्यासमा सहभाीले देखाएको उत्सुकता, समर्पण, लगनशीलता र परिश्रमले विश्व शान्ति स्थापना प्रयासमा सहभागी हुने संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका सैनिकबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि भई शान्ति स्थापना कार्यमा निखार आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानसेनापति शर्माले द्वन्द्वग्रस्त मुलुकको जटिलता र विविध चुनौतीको बाबजुद शान्ति सैनिकको व्यवसायिकता, आपसी सम्बन्ध, पेसागत ज्ञान तथा मनोबल अभिवृद्धिमा अभ्यास सहयोगी हुने बताउनुभयो ।
प्रधानसेनापति शर्माले ठूलो महत्व राख्ने शान्ति स्थापनासम्बन्धि बहुराष्ट्रिय अभ्यास सफलतापूर्वक सञ्चालन गर्ने वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकसित हुँदै गइरहेकामा खुसी व्यक्त गर्नुभयो । अभ्यासको सफलताका लागि विभिन्न ढङ्गले सहयोगी भूमिका निर्वाह गर्ने नेपाल सरकार, अमेरिकी सरकार, सहभागी मित्रराष्ट्रका सरकारलगायत सम्बद्ध सबैमा कृतज्ञता ज्ञापन गर्दै उहाँले यस प्रकारको अभ्यासबाट सहभागी राष्ट्रबीचको पारस्परिक सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा खुकुरी ड्रिल र व्याण्ड प्रदर्शन गरिएको थियो भने नेपाली मौलिकता झल्कने वेषभूषासहितको गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका वरिष्ठ अधिकृतलगायतको सहभागिता थियो ।


















