काठमाडौं, २२ फागुन (बीबीसी) । अकस्मात सत्ताबाट बेदखल हुनुपर्दाको अनुभूति त छँदैछ डा. प्रकाशशरण महतलाई थप आश्चर्य पारेको विषय चाहिँ किन उहाँमाथि दोष थुपारिँदैछ भन्ने रहेछ।
मङ्गलवार बिहान बीबीसीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले प्रधानमन्त्रीका रुचिका फाइल वा योजना अड्काएको थिइनँ।”
“शायद गठबन्धन भत्काउन (प्रधानमन्त्री)लाई बहानाहरू चाहिएको थियो।”
अर्थमन्त्रीमाथि लागेका दोष
सोमवार अचानक जस्तो देखिएको सत्ता फेरबदलका माझ प्रधानमन्त्री प्रचण्डको दल माओवादीका प्रवक्ताले परिवर्तनको एउटा मुख्य कारण ‘प्रधानमन्त्रीलाई काम गर्न अनुकूलता नमिलेको’ बताउनुभएको थियो।
“प्रधानमन्त्रीले सामाजिक न्यायसहितको सुशासन र समृद्धिमा जोड दिँदै आउनु भएको हो। त्यसमा पूर्ण गतिमा काम गर्न मलाई अनुकूलता भएन भनेर वहाँले मन्त्रिमण्डल पुनर्गठन गर्न खोजिरहनु भएको थियो। तर त्यसमा सहमति जुट्न सकेन,” नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बीबीसीलाई भन्नुभएको थियो।
बितेका केही सातायता विशेषगरी अर्थमन्त्री डा. महत लगायत कतिपय मन्त्रीलाई फेरबदल गर्न प्रधानमन्त्री प्रचण्ड इच्छुक रहेको तर नेपाली कांग्रेस त्यसमा तयार नभएको भन्ने विवरणहरू आइरहेका थिए।
अर्थमन्त्री रहनुभएका डा. महतमाथि लक्ष्यअनुरूप पूँजीगत खर्च गर्न नसकेका, शिथिल अर्थतन्त्र चलायमान बनाउन नसकेका जस्ता दोष लाग्दै आएका थिए।
तर ती सबै दोष आधारहीन भएको डा. महतको जबाफ छ।
“प्रधानमन्त्रीले सुशासनको कुरा गरिराख्नु भएको थियो। त्यही मर्मलाई समातेर देशमा देखापरेका आर्थिक समस्यालाई सम्बोधन गर्ने गरी मैले काम गरेको थिएँ,” महतले भन्नुभयो।
“थुप्रिँदै आएका बेथितिलाई कम गरेर बजेटरी अनुशासन कायम गर्दा कसैलाई चित्त बुझेको रहेनछ भने त मैले के भनौँ?”
‘मैले फाइल अड्काएको थिइनँ’
उहाँले प्रधानमन्त्रीको अटेरी गरेको तथा समानान्तर सत्ता चलाएको भन्ने टिप्पणी पनि माओवादी वृत्तमा पछिल्ला समय गरिएका थिए।
“त्यो एकदमै गलत कुरा हो। मैले हरेक विषय प्रधानमन्त्रीसँग छलफल गरेरै गर्दै आएको थिएँ,” डा. महतले भने।
उहाँका अनुसार पद छाड्दिनु भनेर प्रधानमन्त्रीले उहाँलाई भन्न
भएको पनि थिएन।
“यो कुरा तपाईँको चित्त बुझेन। सहयोग गर्नु पर्यो भनेर मलाई भनेकै कहिल्यै छैन। नत्र जबर्जस्ती पदमा टाँसिएर बसिराख्न मलाई के रहर थियो र?”
प्रधानमन्त्रीको रुचिका योजना वा फाइल अड्काइदिनु भएको थियो त? भन्ने प्रश्नमा उनको जबाफ थियो – “कहाँ अड्काउनु? बजेट विनियोजनको सवाल हो भने गोरखा (प्रचण्डले चुनाव जितेको क्षेत्र)मा राखेकै छ। कतिपय विषयको हकमा विधि र नियमले नमिल्ने रहेछ भने त्यो मैले खुलस्त पारिदिएकै थिएँ।”
लुम्बिनी प्रदेशको रामग्राममा एउटा निजी कम्पनीसँग झन्डै १ सय १६ बिघा जग्गा अधिग्रहण गरी ९९ वर्षका लागि भाडामा दिने प्रकरणबारे पनि अर्थमन्त्रीसँग विवाद भएका विवरण आएका थिए।
त्यसमा डा. महतले संसदीय समितिले नै रोकिदिएको विषय भएको अनि आफूले सम्बन्धित निकायलाई विधि र आधारसम्मत हुनुपर्ने भनेको जबाफ दिनुभएको छ।
अर्थमन्त्रीको कार्यकाल कस्तो
अहिले नेपालको अर्थतन्त्र अप्ठ्यारो आन्तरिक परिस्थितिमा जाकिएको छ।
बाह्य क्षेत्र भनिने शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति जस्ता सूचकहरू निकै राम्रा छन् भने आन्तरिक राजस्व परिचालन, पूँजीगत खर्च भने चिन्ताजनक रूपमा खस्किएका छन्।
अर्थविद्हरूले देशमा आन्तरिक माग घटेका कारण समग्र अर्थतन्त्र शिथिल भइरहेको बताएका छन्।
डा.प्रकाशशरण महत अर्थमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा पनि देशको अर्थतन्त्र शिथिल नै रहिरहेको छ।
डा.महत आफूले अर्थतन्त्रमा सकारात्मक सुधार ल्याइरहेको दाबी गर्नुभयो।
“शिथिलताबाट अर्थतन्त्र सुधारतर्फ अगाडि बढिराखेको छ। रातारात जादू गरेको जस्तो परिणाम त कहाँ आउँछ र?”
आफ्नो पालामा महँगी नाप्ने मुद्रास्फीति दर घटेको, शोधनान्तर बचत बढेको, पर्यटक आम्दानी बढेको, जग्गा कारोबार बढेको अनि ब्याजदर घटेकोजस्ता उपलब्धि भएको उहाँले सुनाउनुभयो।
उहाँको बहिर्गमनको खबरसँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११७ अङ्कको उछाल आएको प्रति उहाँले ‘नयाँ सरकार आएपछि के के न हुन्छ भन्ने मनोविज्ञान’ले काम गरेको भन्दै आफ्नो बचाउ गर्नुभयो।
नयाँ गठबन्धन बनाएर प्रधानमन्त्रीले आफ्नो दलको साथ छाडे पनि नेपाली कांग्रेस जत्तिको सहज साझेदार दल अरू नहुने डा.महतले टिप्पणी गर्नुभयो।
“हामीले अनावश्यक रूपमा टाङ् अड्याउने काम गर्दैनौँ। कुनै विषय विधि र कानुन सम्मत छैन भने एउटा कुरा नत्र कुनै आशय राखेर अप्ठ्यारो पारिरहने काम नेपाली कांग्रेसले गर्दैन। ओलीजी (एमाले अध्यक्ष)ले गठबन्धन गरौँ भनेर पटकपटक भन्दा पनि हाम्रो पार्टी सभापतिले धोका दिएको जस्तो हुन्छ भनेर गर्नुभएन।”


















