काठमाडौं , १ चैत्र । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमण गर्नुहुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उहाँको भ्रमण नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिनका लागि महत्त्वपूर्ण हुने बताएको छ ।
बार्कले चैत्र ५ मा चार दिवसीय भ्रमणमा नेपाल आउनु हुने छ ।
नेपाल भ्रमणको क्रममा उहाँले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकोअन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीको क्रिकेट रंगशाला भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उहाँले प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग भेट गरी नेपाली क्रिकेटको विकासको लागि आर्थिक र प्राविधिक पक्षका साथै क्रिकेट नीतिको बारेमा छलफल गर्नुहुने बताइएको छ ।
बार्कलेले आफू नेपाल भ्रमणका लागि उत्साहित रहेको बताउनुभएको छ । ‘म नेपालमै आएर यहाँको क्रिकेट विकास हेर्न उत्साहित छु । क्यानले क्रिकेटमा सहभागिता र खेलको चर्चा बढाउन राम्रो भूमिका खेलेको छ । यसको प्रभाव सिनियर पुरुष टोलीले विश्वकप छनोट भएर देखाएको छ” बार्कलेले भन्नुभएको छ ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको भ्रमणलाई लिएर उत्साहित रहेको र यसले नेपाली क्रिकेटको भविष्य अझ राम्रो गर्नेमा आशावादी रहेको बताउनुभएको छ ।