Prakash Adhikari March 24, 2024

काठमाडौं, ११ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस् भनेर शुभकामना दिनुभएको छ ।

शनिबार मधेश प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले जहाँ भएपनि, जुन भूगोलमा बसेपनि सबैको उद्देश्य नेपाल समृद्ध बनाउनु रहेको भन्नुहुँदै होलीको सन्देशले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न सहयोग पुर्‍याउँछ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु । हामी जहाँ भएपनि जुन भूगोलमा बसेपनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ, हामी नेपाली समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल पुराओस्, त्यसका लागि राष्ट्रिय एकता मजबुद बनाओस् ।’

यस्तै, उहाँले पर्व मनाउनको लागि अरुको स्वतन्त्रतालाई प्रभाव पार्न नहुने भन्दै इच्छा विपरित रमाइलो नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस पर्वका अवसरमा अरुको स्वतन्त्रतामाथि प्रभाव नपर्नेगरी आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्छ । इच्छा विपरित रमाइलो हुँदैन् यो कुरामा ध्यान दिनुपर्छ । कसैलाई स्वास्थ्यमा समस्या आउनसक्छ । त्यो विषयमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यको साथै आर्थिक पक्षमा पनि ध्यान दिनुपर्छ । अनावश्यक भार पर्नेगरि खर्च नहोस्, कम खर्चमा पर्व मनाउनुपर्छ ।’

होली पर्व सबै पर्व मध्ये पुरानो भएको भन्दै यो समाज विकास र मित्रतासँग जोडिएको उहाँको भनाइ छ ।

Share Now