भरतपुर(चितवन),११ चैत्र। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ।
आइतबार चितवनको भरतपुरबिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए। देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उहाँको भनाइ थियो।
सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उहाँले बताउनुभयो। गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताउनुभयो ।
सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति परिचालन गरेको उहाँले बताउनुभयो। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उहाँले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो।
फरक प्रसङगमा बोल्दै उहाँले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताउनुभयो। विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको उहाँले बताउनुभयो।