Prakash Adhikari March 29, 2024

 

जेनेभा(स्वीजरल्याण्ड), १६ चैत्र(बीबीसी) । महिनौँको चेतावनीपछि संयुक्त राष्ट्रसङ्घले सघाएको पछिल्लो एक प्रतिवेदनले तथ्याङ्कसहितको बलिया प्रमाण पेस गर्दै गाजाको मानवीय विपद् मानव सिर्जित अनिकाल बनेको जनाएको छ।

राष्ट्रसङ्घका शीर्ष मानवअधिकार अधिकारीले बीबीसीका जेरमी बोअनसँगको एक अन्तर्वार्तामा त्यसको उल्लेख्य दोष इजरायलको रहेको र उसले गाजामा भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको भरपर्दो आधार रहेको बताउनुभएको छ।

राष्ट्रसङ्घीय मानवअधिकार निकायका उच्चायुक्त फोल्कर ट्यूर्कले यदि उहाँहरूको मनसाय पुष्टि भएमा त्यो युद्ध अपराध हुने बताउनुभयो।

इजरायलका अर्थमन्त्री तथा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको दलका एकजना वरिष्ठ नेता निर बर्कटले ट्यूर्कको चेतावनीलाई पूरै बेतुकको – एउटा पूरै गैरजिम्मेवार अभिव्यक्ति भन्नुभएको छ।

इजरायलको भनाइ

इजरायली मन्त्रीमण्डलका अन्यलेझैँ बर्कटले समेत इजरायलले अमेरिका र अन्यत्रबाट आएका सहायता गाजा लैजान दिइएको दाबी गर्नुभएको छ।

इजरायलले राष्ट्रसङ्घ सहायता वितरण गर्न विफल भएको र यसअघि बचेखुचेको सामग्री समेत हमासले प्रयोग गरेको बताउने गर्छ।

तर सहायता सामग्री भरिएको लरीहरूको लामो ताँती गाजाको इजिप्टतर्फको सीमानाका रफाहमा रोकिराखेको छ।

ती इजरायलमार्फत मात्रै लम्बे प्रक्रिया र जाँच पासपछि गाजा प्रवेश गर्न पाउँछन्।

गाजामा अत्यावश्यक सामग्रीको अभावले जोर्डन, अमेरिका र यूके सहितका देशलाई सहायता आकाशबाट छाड्ने उपाय रोज्न बाध्य पारेको छ।

मानवीय सहायताका लागि त्यो सबैभन्दा कम प्रभावकारी तरिका मानिन्छ।

तर राष्ट्रसङ्घीय उच्च अधिकारीको यस अभिव्यक्तिले इजरेललाई प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न कानुनी जिम्मेवारीहरू पालना गर्न र मानिसहरूसम्म मानवीय सहायता पुर्‍याउन दबाब बढाएको छ।

अस्पताल आसपास लडाइँ

इजरायली सेनाको लडाइँ यतिखेर गाजाका तीन अस्पताल वरपर केन्द्रित बनेको छ।

इजरायलले गाजा सहरको अलशिफा अस्पताललाई ११औँ दिनयता कब्जा गरेको जनाउँदै त्यस बीचमा कम्तीमा २०० हमास र इस्लामिक जिहादी लडाकुहरू मारिएको जनाएको छ।

इजरायली सैनिकहरूले हमास र प्यालेस्टिनी इस्लामी जिहादी लडाकू समूहविरुद्ध गाजाको सिफा र खान युनिस अस्पतालमा खोजतलास र कारबाही चलाइरहेकोे छ ।
कारबाहीका क्रममा ८०० संदिग्ध लडाकूहरूलाई हिरासतमा लिएको छ । यसमध्ये करिब ५०० जना हमास वा अतिवादी प्यालेस्टिनी इस्लामिक जिहादीसमूहका सदस्य भएको इजरायली सेनाले दाबी गरेको छ ।

अस्पतालमा कारबाही सुरू भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई उनीहरूको सुरक्षाका लागि सिफा परिसर क्षेत्रमा सारिएको तथा नागरिक र कर्मचारीहरूलाई कुनै हानी नभएको आईडीएफले बताएको छ ।

अस्पतालको एक भवनमा हमासले सरकारी मन्त्रालयहरू, शिक्षा, आन्तरिक, खजाना र प्रहरी मन्त्रालयहरूका प्रतिनिधिसहितको सानो सरकारी प्रशासन केन्द्र स्थापना गरेको विवरणहरू इजरायली सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

खान युनुसमा सैनिकहरूले अल अमल र अल करारा छिमेकमा लडाकू समूहले खडा गरेका पूर्वाधार कब्जामा लिई विस्फोटक पदार्थहरू जफत गरिएको छ ।

अक्टोबर सातमा गाजामा हमासको आक्रमणमा इजरायली समुदायका कम्तिमा एक हजार दुई सय मानिसको मृत्यु भएको थियो भने २४० इजरायली तथा विदेशीलाई बन्धक बनाइएको थियो । नियन्त्रणमा लिएकामध्ये करिब १२० जनालाई यस पहिले गरिएको युद्धविरामका क्रममा रिहा गरिएको थियो भने बन्धकमध्ये इजरायलले ३१ जनालाई मृत घोषणा गरेको छ ।

Share Now