Prakash Adhikari March 29, 2024

कीर्तिपुर(काठमाडौं), १६ चैत्र । नेपाल भ्रमणमा रहेको पाहुँना टोली आयरल्यान्ड वुल्भ्स र नेपालको टिम ए आज टी २० श्रृखलाको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छन् ।

हिजो मौसमको खराबीले खेल रद्द भएकोले पहिलो खेल आज सरेको हो । आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिड. गर्ने निर्णय लिएको छ ।

आजको खेलमा आयरल्यान्ड वुल्भ्सले पहिले ब्याटिङ गर्दैछ ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाली टोलीमा लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी प्लेइड. ११ मा रहेका छन् भने विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी जगेडा खेलाडीको रुपमा रहेका छन् ।

नेपाली समय अनुसार दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपाल टिम ए र आयरल्याण्ड वुल्भ्स दुवै टिमले टी २० र एकदिवसीय सिरिजमा ३ ३ खेल खेल्दै छन् ।

नेपाल र आयरल्यान्डको दोस्रो रोजाइको टोली रहेपनि दुवै टोलीमा सिनियर टोलीबाट खेलेका आधा दर्जन भन्दा बढी खेलाडी सहभागी छन् । नेपालले टी २० विश्वकपमा सहभागी हुने सिनियर टोलीमा ब्याकअप खेलाडी तयार पार्ने उद्देश्यले टिम ए विकास गरिरहेको छ ।

नेपाल ‘ए’ एकदिवसीय टोलीको पनि घोषणा गरिसकेको छ । क्यानका अनुसार विनोद भण्डारीको कप्तानी रहने एक दिवसीय टोलीमा अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन् ।

आयरल्यान्डको टोलीमा भने नेपाल भ्रमणमा आएका खेलाडीहरुले नै दुवै फम्र्याटमा खेल्ने छन् ।
निल रकको कप्तानी रहने आयरल्याण्ड वुल्भ्सको टिममा रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ र बेन व्हाइट रहेका छन् ।

नेपाली राष्ट्रिय टिम र आयरल्यान्ड ‘ए’ बिचमा भएको खेलमा नेपालले दुवै म्याच जितेको छ । मार्च २४ मा भएको नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’ को टी २० खेलमा–नेपाल ६ विकेटले विजयी भएको थियो भने मार्च २५ मा सम्पन्न दोस्रो टी २० खेलमा नेपाल ७१ रनले विजयी भएको थियो ।

मौसमले साथ दिए र निर्धारित तालिका अनुसार नै खेल हुने भयो भने मार्च २९,३० र अप्रिल १ मा नेपाल ए र आयरल्याण्ड ए बीचमा टी २० फम्र्याटका खेल हुने छन् । त्यस्तै अप्रिल ३, ५ र ७ मा दुवै टोलीबीचमा एक दिवसीय खेल हुने छन् ।

Share Now