कुस्मा(पर्वत),२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी र बाग्लुड. अध्यक्षमा हीराबहादुर केसी निर्वाचित हुनुभएको छ ।
एमाले पर्वतको निर्वाचनमा पहाडीले निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मा भन्दा १ सय २१ मत बढी प्राप्त गर्नुभएको हो ।
पहाडीले २ सय ४८ मत प्राप्त गर्नुभयो भने शर्माले १ सय २७ मत मात्र प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो ।
अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो । सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो ।
एमाले बागलुङको अध्यक्षमा केसी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।
निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष हुनुभएको हो । साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत हुनुभएको छ । यसअघि सचिव रहनुभएका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत हुनुभएको थियो ।
सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन हुनुभएको छ ।
“निर्वाचनको कार्यतालिकामै छौँ, एकल उम्मेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ”, संयोजक गौतमले भन्नुभयो, “सचिवको विषयमा पार्टीले छलफल गरिरहेको होला, निर्वाचन कार्यतालिकाअनुसार हामी अगाडि बढिरहेका छौँ, एकल उम्मेदवारी पर्नु भनेको निर्वाचन जित्नु हो, निर्वाचन कार्यतालिकाअनुसार सबैको नतिजा आएपछि मात्रै घोषणा हुन्छ ।”


















