Prakash Adhikari April 20, 2024

मस्कट(ओमान),८ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भइरहको खेलमा नेपालले हङकङसामु १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको मस्कटस्थित अल इमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरको खेलमा पुरै ओभर खेल्दै १ सय ३९ रन बनाएको छ ।

नेपालका ओपनर ब्याट्स्म्यान कुशल भूर्तेललाई डग आउट पारेको हंगकंगले नेपाललाई पुरै समय दबाबमा राख्यो ।

नेपालको लागि सातौ क्रममा रहेका अल राउण्डर दीपेन्द्रसिंह ऐरीले अबिजित ४४ रन जोडेर नेपाललाई यो सम्मानजक स्थितिमा पुर्याएका हुन् । नेपालका लागि सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६, आशिफ शेखले ५, करन के.सी.ले ३ र ललित राजवंशीले २ रन जोडे ।

शीर्ष क्रमका ब्याट्सम्यानहरु धराशायी भएपछि नेपाल आजको खेलमा निकै दबाबमा रह्यो ।

नेपाललाई रोक्ने क्रममा हंगकगका आयुश शुक्लाले ३,आतिक इक्वाल, इशान खान र यातिव मुर्तजाले एक एक विकेट लिए ।

एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ ।

इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।

नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एशिया कप खेल्ने ईच्छामा युएई हिजो बाधक बनेको थियो । प्रतियोगिताको विजेता मात्र एशिया कप खेल्ने प्रावधान रहेकोमा साविक विजेता नेपाल हिजो युएई विरुद्ध ६ विकेटले पराजित भएसँगै नेपालको उपाधि यात्रा अघि बढ्न सकेन ।

उता हङकङ भने घरेलु टोली ओमान विरुद्ध हिजो नै ५ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।

हङकङ र नेपाल यस अघि यसै प्रतियोगितामा समूह चरणमा भिडेका थिए । सो खेल नेपालले ८ विकेटले जितेको थियो ।

Share Now