काठमाडौं, १२ बैशाख । साताको चौथो तथा शेयर कारोबार भएको तेस्रो दिन नेपालको सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ ।
आज धितापत्र बजार परिसुचक (नेप्से) शून्य दशमलव १५ अंकले उकालो लागेर १ हजार ९ सय ६९ दशमलव १७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६० अंकले उकालो लागेर ३ सय ४८ दशमलव ५५ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज विभिन्न कम्पनीहरुको ३ सय १३ किसिमका ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर खरिद बिक्रीबाट २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैंयाँको कारोबार भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमूहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स र उत्पादनमूलक उपसमूहको सूचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सूचक ओरालो लागेका छन् ।
नयाँ गठबन्धनको सरकारको आर्थिक नीतिमा अझै पनि लगानीकर्ताहरुले पूर्ण विश्वास गर्न सकेका छैनन् । उनीहरु अझै पनि पर्ख र हेरको अवस्थामा नै रहेको देखिन्छ । सरकारले घोषणा गरेको आसन्न लगानी सम्मेलनमा विश्वका कस्ता लगानीकर्ता कति आउछन् ? र तिनले के कस्तो लगानी प्रतिबद्धता गर्दछन् ? त्यसले नै शेयर बजारको गति र दिशा निर्देशन गर्ने छ । त्यसले पनि नसके बजेट कुर्नुपर्ने छ ।


















