Prakash Adhikari April 27, 2024

शरद केसी / बीबीसी न्यूज नेपाली

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले नेकपा एमालेसँग मिलेर सरकार बनाउनु पर्ने धारणा सार्वजनिक गर्न थालेपछि सत्ता गठबन्धनको भविष्यलाई लिएर अनेक चर्चा चल्न थालेका छन्।

तर एमालेका नेताहरूले त्यसप्रति विश्वास गर्न सकिरहेको पाइँदैन।

अचानक सत्ताबाट बाहिरिँदा कांग्रेस व्यग्र र अधैर्य देखिएको टिप्पणी गर्दै एमाले नेता प्रदीप ज्ञवाली नेपाली कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने कोशिशमा रहेको ठान्नुहुन्छ।

“प्रयास भए पनि त्यो सफल हुन्छ भन्ने लाग्दैन,” ज्ञवाली भन्नुहुन्छ, “अहिलेको यो सत्ता सहकार्यलाई टिकाएर लैजानु पर्छ, देशलाई सधैँभरि प्रयोगको थलो बनाउनु हुन्न भन्नेमा हाम्रो पार्टी प्रस्ट छ।”

नेकपा एकीकृत समाजवादीका नेताहरूले सरकार र सत्ता सहयात्री दलप्रति जनाइरहेको असन्तुष्टिले पनि नयाँ समीकरण निर्माणको सम्भावनालाई बल दिइरहेको छ।

त्यस्तो अवस्थामा अर्को सत्ताधारी जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद र विभाजनको सम्भावनाले सरकार अल्पमतमा पर्ने जोखिम सत्तापक्षमा देखिन्छ।

तर नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल कांग्रेसले सुरुदेखि नै वर्तमान समीकरण फुटाउने प्रयास गरेको बताउँदै त्यो सफल नहुने विश्वासमा देखिनुहुन्छ।

सत्ताधारी दलहरूबीच केही आशङ्का र असमझदारी रहे पनि विभाजनको सम्भावना रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “आफूबीचकै एकता र समझदारीलाई टिकाउन सकिएन भने सम्बन्धित पार्टीहरू र मुलुकको निम्ति पनि दुर्भाग्य हुन्छ। त्यता तिर जाँदैन होला।”

कतिपयले माधव नेपाललाई प्रधानमन्त्री बनाउने सर्तमा पनि कांग्रेसले वर्तमान गठबन्धन तोड्ने प्रयास गरिरहेको बताउने गरेका छन्।

तर नेता खनाल कांग्रेसले त्यो कुरा सुरुदेखि गरिरहे पनि आफ्नो पार्टीले त्यसबारे केही धारणा नबनाएको बताउनुहुन्छ।

कांग्रेसलाई साथ दिन हच्किनुको कारण

पुरानै गठबन्धन ब्युँताउन वा एमाले र माओवादी बाहेकको सरकार बनाउन कांग्रेसलाई साथ दिने सम्भावनाबारे उहाँले भन्नुभयो, “त्यो ढङ्गले जानु हाम्रो आफ्नै पार्टीको हितमा पनि हुँदैन र मुलुकलाई अग्रगति तर्फ लग्छ भन्ने पनि लाग्दैन। त्यसैले हाम्रो पार्टीले त्यसरी सोच्दैन।”

नयाँ समीकरणले गर्दा प्रदेश सरकार गठनमा पनि अस्थिरता उत्पन्न भएको देखिन्छ। कांग्रेस र एमाले मिल्दा केन्द्र र प्रदेशमा स्थायित्व आउने तर्क पनि जोडदार रूपमा उठेको पाइन्छ। विगतमा त्यसको विपक्षमा रहेका कांग्रेसका नेताहरू पनि दुई ठूला दल मिल्नु पर्ने पक्षमा देखिएका छन्।

तर एमाले नेता प्रदीप ज्ञवालीले विगतमा देशका प्रमुख मुद्दालाई लिएर सहकार्यको निम्ति आफ्नो पार्टीले प्रयास गर्दा कांग्रेसले बेवास्ता गरेको बताउँदै भन्नुभयो, “अब मुलुक एउटा गतिमा गइसक्यो, अहिले सरकार परिवर्तन गर्ने विषयमा कसैसँग पनि कुराकानी गर्दैनौँ।”

तर उहाँका भनाइमा मुलुकको बाह्य सम्बन्ध, आर्थिक सङ्कट, संविधानको रक्षा, मुख्य.मुख्य पूर्वाधार निर्माण र सङ्क्रमणकालीन न्याय लगायतका विषयमा छलफल हुन सक्छ।

कांग्रेसले वर्तमान सरकारलाई अल्पमतमा पारेर सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार बनाउने दाउ हेरिरहेको एमाले नेताहरूको बुझाइ पनि पाइन्छ।

ती लगायतका आशङ्का टार्न दुवै दलका शीर्षस्थ नेताको तहमा छलफल चलिरहेको खबरहरू पनि आउने गरेका छन्।

तर नेता ज्ञवाली त्यो कुरा अस्वीकार गर्दै भन्नुहुन्छ, “त्यसबारे कुरै भएको छैन।”

प्रचण्डकै पार्टीभित्र आशङ्का

माओवादीका नेताहरू प्रदेश सरकारहरू केही प्रतिकूलतामा रहे पनि केन्द्र सरकार तत्काल तलमाथि नहुनेमा विश्वस्त देखिनुभयो।

“सङ्घको सरकारको गणित केही समयको निम्ति सुनिश्चित छ”, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले भने, “केही असन्तुष्टि र बार्गेनिङ त छन्, तर बाहिर चर्चा भए जस्तो भर्खरै अर्कोतिर जाने भन्ने छैन।”

सरकार ‘भर्खरै’ वा ‘केही समय’ केही नहुने उहाँको भनाइले प्रधानमन्त्रीकै पार्टी सरकारको लामो आयुप्रति निश्चिन्त नरहेको सङ्केत दिन्छ। तर सुनिश्चित कहिलेसम्म देखेको छ र उहाँले ती शब्द चयन गर्नुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिएको सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यसैले १०० दिन त यसै पनि जान्छ। सरकारको नीति(कार्यक्रम र बजेट सबै आइसकेपछि के हुन्छ भन्न सकिन्न, तर त्यो सबै आएर अगाडि बढुन्जेल केही हुँदैन।”

सरकारका एक मुख्य भरोसा बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ।

त्यसले बजेट अधिवेशनमा राजनीतिक विवाद चर्को हुने सम्भावना देखाउँछ। एकीकृत समाजवादी पार्टीका कतिपय नेताहरूले पनि बजेट पारित नहुने चेतावनी दिने गरेका थिए।

लामिछानेको विषयलाई लिएर कांग्रेसको अडान र नीतिले सत्तापक्षभित्र विभाजन देखिएको खण्डमा त्यसबाट वर्तमान सत्ता समीकरणमा विग्रह चाहनेलाई लाभ पुग्न सक्ने देखिन्छ।

 

Share Now