Prakash Adhikari April 30, 2024

 

इलामबजार(इलाम), १८ बैशाख । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको नतिजा नेकपा एमालेको पक्षमा गएको छ ।

मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७ सय ७२ मत हासिल गर्दै इलाम २ बाट विजय प्राप्त गर्नुुभएको छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याउनुभयो ।

२०७९ को निर्वाचनमा खड्का नेकपा एमालेका सुवास नेम्वाङसँग १ सय १४ मतले पराजित हुनुभएको थियो । यसपटक नेम्वाङका सुपुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले खड्कालाई पराजित गर्नुभयो ।

२०८० भदौ २७ मा पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इलामको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले अपेक्षाकृत मत ल्याउन सकेनन् । पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार डकेन्द्र सिं थेगिम तेस्रो स्थानमा देखिनुभयो।

उहाँले ११ हजार ४ सय ५७ मत पाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाउनुभयो । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत ल्याउनुभएको थियो ।

निर्वाचन कार्यालय, इलामका अनुसार इलाम २ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६र६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा नम्वर १० बाहेकका ११ वटा वडा सम्मिलित छन् । इलाम २ मा कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेकोमा बैशाख १५ गतेको उपचुनावमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो ।

Share Now