वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ४ जेठ(बीबीसी) । अमेरिकी गुप्तर निकाय सीआइएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ।
सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो।
राष्ट्रपति बुसको कार्यकालमा सीआइएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो।
सीआइएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन्।
विभाजन
उनी अघिका सीआइए प्रमुख माइक पोम्पेओले विदेशमन्त्री बन्न पद छाडेका थिए।
भियतनामको जेलमा पाँच वर्षभन्दा बढी अवधि बिताएका रिपब्लिकन सिनेटर जोन मक्केनले यसअघि राष्ट्रपतिको मनोनयन प्रति आफ्नो विरोध रहेको बताएका थिए।
बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे।