काठमाडौं , २७ वैशाख। कोशी प्रदेश प्रमुख परशुराम खापुड.द्धार प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गरिएकोमा सो प्रक्रिया संविधानको अक्षर र भावना विरुद्ध भएो भन्दै सम्पूर्ण प्रक्रिया खारेज गर्न आजै सर्वोच्च अदालतमा रिट परेको छ ।
कोशी प्रदेश प्रमुखद्धारा निवर्तमान बनाइनुभएका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । उहाँलेरिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गर्नुभएको छ ।
उहाँले प्रदेश प्रमुखद्धारा आज नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गर्नुभएको छ । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।
प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्यरातमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
बिहीबार बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थसहित दाबी पेस गर्नुभयो । समर्थनकर्ता सांसदहरूको सनाखत गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।


















