काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
देशका पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा लमजुड. र कास्कीमा भारी बर्षा
पछिल्लो २४ घण्टामा देशका २ जिल्लामा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ६ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा लमजुङ र कास्कीमा भारी वर्षा भएको हो।
महाशाखाका अनुसार लमजुङको कुन्छा भन्ने स्थानमा ८४ मिलिमिटर र कास्कीको लामापाटनमा ६५.२ मिलिमिटर वर्षा मापन भएको हो।
यसबाहेक देशभर विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का, १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम तथा ५० मिलिमिटरभन्दा माथि १०० सय मिलिमिटरभन्दा मुनिको वर्षालाई भारी वर्षा भनिन्छ।