काठमाडौं, २ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको यौनदूराचार मुद्दामा पाटन उच्च अदालतबाट आज फैसला आउने संभावना रहेको छ ।
जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज (बुधबार) जवाफी बहस हुँदै छ। इजलाशले उनको मुद्दालाई हेर्दाहेदैको सूचीमा राखेको छ।
सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरीका अनुसार आज जवाफी बहस सकिने र फैसला आउने संभावना छ। आज जाहेरीवाला पक्षबाट ३ र सन्दीप पक्षबाट ३ अधिवक्ताले बहस गर्ने सम्भावना छ।
सन्दीपको मुद्दामा मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको छ।
मंगलबार सुरुमा सन्दीपका वकिलले बहस गरे भने यसपछि जाहेरीवालाका तर्फबाट सरकारी वकिल र निजी वकिलले बहस गरे। जवाफी बहस बाँकी बसेकाले सो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।
जिल्ला अदालत काठमाडौँले यौनाचारमा दोषी ठहर गरी सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाए पनि यस प्रकरणमा संलग्न युवतीको उमेर १८ बर्ष पुगेको उल्लेख गरेको छ । जिल्ला अदालतको उमेर विवादको फैसला नै सन्दीपले सफाई पाउने भरपर्दो आधार हो । उमेर पुगेका युवायवतीले सहमतिमा गरेको यौनसम्पर्क कसूरजन्य अपराध भन्न नमिल्ने र अरुको सरोकारको विषय पनि नहुने सर्वोच्च अदालतले फैसला गरेको छ ।
अन्नपूर्णा राणाको अंश संबन्धी मुद्दामा उहाकी आमाले उनको अन्य पुरुषसंग सम्बन्ध रही जायजन्म समेत भएकोले उनको कुमारीत्व परीक्षण गराइपाउन माग गर्नुभएको थियो । तर अदालतले उमेरपुगेका युवायुवतीको आपसी सहमतीमा भएको यौनसम्पर्कलाई अपराध मान्न नहुने फैसला गरेको छ ।
सन्दीपको सन्दर्भमा उनलाई भेटकालागि बोलाउने पनि गौशाला ६ हुन् । दिनभर घुम्न चाहना पनि उनैले गरिन् । नगरकोटसम्म जाँदा बीचमा प्रहरीकहाँ कतै आफूलाई इच्छाबेगर घुमाउन लगेको उजुरी गरिनन् । खाजा खाएर फर्किदा पनि कतै उजुरी गरिनन् । डेरा वा होस्टलमा छोडिदिन्छु भन्दा पनि संगै बस्न चाहना गरिन । भोलिपल्ट देशकालागि विदेशमा खेल खेल्न जान तत्पर राष्ट्रिय कप्तानलाई होटलमा रोकिन । रातभर सहबास गरेपछि बिहान हाँसीखुसी होटलबाट संगै निस्किइन् । साथीहरुलाई आफूले सन्दीपसंग बिताएका हरेक पल आनन्ददायी भएको जवाफ लेखिन । जब उनले संग रात कटाएको कुरा भनिन्, बीचमा सन्दीपका शत्रु परे । उनलाई गौशाला प्रहरीमा उजुरी गर्न लगाए ।
उजुरी पछि पनि घट्नामा संलग्न सन्दीपसंग सम्पर्क नै नगरी प्रहरीले एकतर्फी जाँचबुझ गर्यो । उनी नेपाल आउछु भन्दाभन्दै रेडकर्नर नोटिस जारी गर्यो । उनलाई एअरपोर्टबाटै गिरफ्तार गरियो । अदालतबाट उनलाई पीडितलाई,उनका आफन्तलाई र मिडियामा सम्पर्क गर्न नपाउने कडा आदेश ल्याइयो । आरोपितले आफूमाथि लगाइएको आरोपको प्रतिवाद पनि गर्न नपाउने अचम्मको न्यायिक प्रक्रिया अपनाएर सन्दीपलाई पिजडामा हालियो ।
परिस्थितिजन्य घट्नाक्रमले यस प्रकरणमा सन्दीपलाई फसाइएको देखाउछ । पीडित भनिएकी युवति नाबालिक नरहेकोेले सन्दीपले यसमा सफाई पाउने संभावना बलियो छ ।