Prakash Adhikari May 19, 2024

 

काठमाडौं, ६ जेठ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बोलाइएको छ । सहकारी ठगी प्रकरणका लागि छानबिन समिति गठन गर्ने बिषयमा शनिवार राजनीतिक दलहरुबीच सहमति जुटेकोले आजदेखि संसद बैठक सुचारु हुने संभावना छ ।
छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले कार्यदलको बैठक बसिरहेको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यदलको बैठक कानुन मन्त्रालयमा बसिरहेको जानकारी दिनुभएको छ। सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच शनिबार संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो।

कार्यदलको नेतृत्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नुभएको छ । यसमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्य रहनुभएको छ।

संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै आजदेखि संसद्‌मा कांग्रेसले अवरोध नगर्ने भएको छ।

आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

संसदीय समिति गठनमा सहमति जुटेकोले अब संसदमा संबोधन गर्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव प्रस्ताव गरी पारित गर्ने,यही जेठ १ गते राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफल गरी पारित गर्ने , प्रधानमन्त्रीले जेठ ७ गते लिने विश्वासको मत लिने र १५ गते संघीय संसदको संयुत्तः बैठकमा बजेट पेश गर्ने लगायतका कामरकारबाही सुचारु हुने भएका छन्।

छानबिन समिति गठनको गाँठो यथावत रहेको भए सरकार संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन सक्ने जोखिम थियो । त्यसले श्रृखलाबद्ध रुपमा अन्य धेरै जटिलताहरु ल्याउन सक्ने थियो ।

Share Now