जेरुसेलम, ७ जेठ (रासस/एपी) : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई इजराइल र हमासबीच सात महिनाको युद्धका क्रममा उहाँहरूको कार्यका सम्बन्धमा पक्राउ पुर्जीको माग गर्नुभएको छ ।
मुख्य अभियोजक करिम खानले गाजा पट्टी र इजराइलमा युद्ध अपराध तथा मानवताविरुद्धको अपराधका लागि नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट तथा हमासका तीन नेता येहिया सिनवार, मोहम्मद दिफ र इस्माइल हानियेहलाई आफूले जिम्मेबार ठानेको बताउनुभयो ।
अभियोजकले तीन न्यायाधीशको पूर्व–परीक्षण प्यानलबाट पक्राउ पुर्जीका लागि अनुरोध गर्नुपर्छ । यसले प्रमाणहरूमाथि विचार गर्न र कार्यवाही अगाडि बढ्न सक्छ कि भनी निर्धारण गर्न औसत दुई महिना लाग्छ ।
इजराइल आइसिसीको सदस्य नभएकाले पक्राउ पुर्जी जारी गरिए पनि नेतान्याहु र ग्यालेन्टले अभियोजनको कुनै पनि तत्काल जोखिमको सामना गर्नुपर्ने छैन । यद्यपि इजराइलले आफ्नो युद्धलाई जारी राखेकाले खानको घोषणाबाट उक्त मुलुकको एक्लोपनलाई अझ गहिरो बनाएको छ । साथै पक्राउ पुर्जीको धम्कीले इजराइली नेताहरूका लागि विदेश यात्रा गर्न कठिन हुनसक्छ ।
इजराइलले सिनवार र दिफ दुवैलाई खोजिरहेकाले उनीहरू गाजामा लुकेका छन् भन्ने विश्वास गरिन्छ । तथापि इस्लामिक लडाकू समूह हमासका सर्वोच्च नेता हानियेह कतारमा बस्नुहुन्छ र प्राय यस क्षेत्रको भ्रमण गर्नुहुन्छ ।
नेतान्याहु र ग्यालेन्टसँग इजराइलको युद्ध मन्त्रिमण्डलका सदस्य एवं पूर्वसेना प्रमुख बेनी गान्ट्जले खानको घोषणाको कडा आलोचना गर्नुभएको छ । उहाँले इजराइल ‘सबैभन्दा कडा’ नैतिक संहिताहरूसँग लडिरहेको र आफूलाई अनुसन्धान गर्न सक्षम न्यायपालिका रहेको बताउनुभयो ।
“अक्टोबर ७ मा आतङ्कवादी हमासले गरेको निन्दनीय नरसंहारपछि इजराइलले आधुनिक इतिहासमा लडिएको न्यायपूर्ण युद्धहरूमध्ये एक हो, पक्राउ पुर्जीका लागि आवेदन गर्ने अभियोजकको अवस्था आफैँमा पुस्तासम्म सम्झिने ऐतिहासिक अपराध हो”, उहाँले भन्नुभयो ।
अक्टोबर ७ मा हमासले सीमा पारबाट गरेको आक्रमणको जवाफमा इजराइलले आफ्नो युद्ध सुरु गरेको हो । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय जनाको मृत्यु भएको थियो भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूको पछिल्लो अनुमानअनुसार इजराइली आक्रमणमा करिब आधा सङ्ख्यामा महिला तथा बालबालिकासहित ३५ हजारको मृत्यु भएको छ ।


















