काठमाडौं, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नेपाल प्रहरीले आज जिल्ला अदालत धनुषामा पेस गर्ने तयारी गरिरहेको छ।
सिरोहियाको नागरिकताको नम्बर पहिले नागरिकता लिएका अर्का व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भनी धनुषा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उहाँलाई मंगलबार साँझ कान्तिपुर मिडिया ग्रुपको कर्पोरेट कार्यालयबाटै पक्राउ गरिएको थियो।
बुधबार बिहानै धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्याइनुभएका सिरोहियालाई म्याद थपका लागि प्रहरीले आज अदालत पेस गर्ने भएको हो।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले सिरोहियालाई जिल्ला अदालत लाने तयारी भइरहेको जानकारी दिनुभएको छ। प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा राख्ने म्याद माग्ने तयारी गरेको छ ।
नागरिकता दुरुपयोग गरेको भनी सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले गत वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दिनुभएको थियो ।


















