पाटन (ललितपुर), ९ जेठ : नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्याएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाएको छ ।
बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सहकारीको रकम अपचलनसम्बन्धी निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने पार्टीको मागमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।
सहकारी ठगीका सम्बन्धमा संयुक्त संसदीय समिति गठन गर्ने आफ्नो मागलाई बेवास्ता गरेको भन्दै कांग्रेसले आगामी आइतबार अर्थात १३ जेठमा काठमाडौंमा सडक प्रदर्शन राखेको छ ।
गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन, गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध, सहकारीका बचतकर्ताको वचत फिर्ता, गिरीबन्धु टी इस्टेटको जग्गा घोटाला लगायतका विषय उठाएर सडक प्रदर्शन गर्ने नेताहरुले बताएका छन् ।
विरोध प्रदर्शनमा पार्टीले भातृसंगठनहरुलाई पनि परिचालन गर्ने भएको छ ।


















