काठमाडौँ, १० जेठः किरात समुदायको महान पर्वका रुपमा लिइने उभौलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुमकामना दिनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु¥याउने बताउनुभएको छ ।
किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताउनुभएको हो ।
“हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु¥याउँछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भन्नुभएको छ, “उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”
किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँदछन् ।
साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ ।
सद्भाव एकता र भातृत्व विकास गर्ने सभामुखको विश्वास
सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित शुभकामना व्यक्त गनुभएको छ ।
सभामुख घिमिरेले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।
“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो”, सभामुख घिमिरेले सन्देशमा उल्लेख गर्नुभएको छ । हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बँेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ ।
राष्ट्रिय एकता थप सुदृढ हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति र समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पूर्वराष्ट्रपतिले भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
उँभौली पर्वले सम्पूर्ण नेपालीहरूलाई आपसमा एक भएर सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना उहाँले सन्देशमा गर्नुभएको छ ।
उँभौली किरात समुदायद्वारा वैशाख शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति (भूमि)को पूजा गरी मनाइने विशिष्ट चाड हो ।
–––


















