Prakash Adhikari May 25, 2024

 

काठमाडौँ, १२ जेठ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नताका सम्बन्धमा बनाउने संसदीय छानबिन समितिको नाम र कार्यादेश (टीओआर) लगभग टुङ्गोमा पुगेको बताइएको छ ।

भोलि आइतबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बसेर यसलाई अन्तिम रुप दिने सहमतिमा आजको बैठक टुंगिएको छ ।

उच्च सूत्रहरुले दिएको जानकारी अनुसार छानबिन समितिलाई दिइने कार्यादेश(टीओआर)मा ‘गोरखा मिडिया’ को नाम लेख्ने लगभग सहमति भएको छ । समितिलाई गोरखा मिडिया स ञ्चालन गर्दा सहकारीको सिद्धान्त,मर्म र लगानी नीति विरुद्ध काम गर्ने, गराउने र रकम अपचलन गर्ने विरुद्ध छानबिन गरी कारबाहीको सिफारिस गर्ने कार्यादेश दिइने छ।

आज अपरान्ह सिंहदरबारमा बसेको संसदीय छानबिन समितिको टीओआर (कार्यादेश) तय गर्ने कार्यदलको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भनिएका सहकारी संस्था र उनी आबद्ध गोरखा मिडियाको नाममा छानबिन गर्नेगरी छलफल भएको थियो।

सोही छलफलबारे कार्यदलका सदस्यले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतलाई ब्रिफिङ गरेका थिए ।शनिबार बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो। त्यसैले छानबिन समितिको नाम र कार्यादेशमा आज राजनीतिक सहमति बन्न सकेन । अब आइतबारशीर्ष तीन नेता बैठक बसेर यसलाई टुंग्याउने सहमतिसहित आजको वार्ता सकिएको छ।

नेपाली कांग्रेसका सांसद् एवं कार्यदलका सदस्य जीवन परियारका अनुसार, सहमतिको खाका शीर्ष नेतृत्वको टेबुलमा पुगिसकेकाले आइतबार बिहान ९ बजे बस्ने बैठकमा सहमति हुने सम्भावना छ। सरकारलाई आगामी जेठ १५ गते बजेट ल्याउनैपर्ने बाध्यात्मक परिस्थिति छ। यता राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकलाई संबोधन गरेर संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति र कार्यक्रममा छलफल हुन सकेको छैन् । सरकारले भोलि नीति तथा कार्यक्रममा छलफल गरेर भोलि नै त्यसमा उठेका प्रश्नहरुको जवाफ दिई यसलाई पारित गर्ने तयारी गरेको छ । भोलि संसद चल्ने अवस्था नआए बजेट अध्यादेशबाट बजेट आउनसक्ने जोखिम भएकोले सत्तापक्ष र प्रतिपक्ष दुवै भोलि बिहान संसदको बैठक प्रारम्भ हुनु अगावै समितिको नाम र कार्यादेशमा सहमतिमा पुग्नुपर्ने दबाबमा छन् ।

Share Now