Prakash Adhikari May 23, 2018

काठमाडौं, ९ जेठ । सर्वोच्च शिखर सगरमाथामा यो वर्ष पाँच नेपाली पत्रकार सहित ४३ देशका करिब ५ सय नागरिक पुगेका छन् ।

यो वर्षको सगरमाथा आरोहणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागबाट अनुमति लिने ३ सय ४६ टोली, आरोहीका हाई अल्टिच्यूट वर्कस नामक सहयोगी, गाईडसहित करिब ८ जना जना शिखरतर्फ लागेकोमा ५ सय जनाले शिखर चुमेको पर्यटन मन्त्रालयबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

पर्यटन विभागका अनुसार बुधबार विहानसम्म भएको सगरमाथा आरोहणमा पाँच जना महिला पत्रकारले पनि सफल आरोहण गरेको उल्लेख छ ।

चार जना नेपाली महिला पत्रकारहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।
यस अगाडि नै फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सफल आरोहण गरिसकेकी छन् ।

उनीहरु बुधबार बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

महिला पत्रकारहरुको समूहमा पाँच सदस्य थिए । तर, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की भने अस्वस्थ भएपछि तेस्रो आधार शिविरबाटै फर्किएकी छन् ।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण(२०१८’ समूह सगरमाथा चढ्न गएको थियो । टिमको नेतृत्व रोजिताले गरेकी थिइन् । उनले झमक घिमिरेको जीवनीमा आधारित फिल्ममा पनि अभिनय गरेकी छन् ।

आरोही महिला पत्रकारहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा फहराएका छन् ।

श्रेष्ठले दिएको जानकारी अनुसार अनुसार यो वर्षको सिजनको आरोहण सुरु भएको करिब दुई सातामा सबैजसो आरोही शिखर चुमेर धमाधम फर्कन थालिसकेका छन् ।मौसम अनुकुल भएकोले अहिलेसम्ममा अधिकांश आरोहीले शिखर चुम्न सफल भइसकेको उनले जानकारी दिए।

यो वर्ष पर्यटन मन्त्रालयबाट अनुमति लिने २ सय ८६ पुरुष र ६० जना महिला गरी ३ सय ४६ जना छन् ।

यसमध्ये २० जना नेपाली रहेका छन् ।

गतवर्ष सन् २०१७ मा ३ सय ६७ जनाले आरोहण अनुमति लिएकामा १ सय ७३ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष अनुमति लिने आरोहीको र आरोहण गर्नेको संख्या बढेको उल्लेख छ ।

आरोहणमा अमेरिका अगाडि

यो वर्ष सगरमाथा आरोहण गर्ने सूचीमा सबैभन्दा बढी अमेरिकी नागरिक हुने भएका छन् । कुल ४३ देशका आरोहीमध्ये अमेरिकाका ५५ जना पुरुष र नौ महिलासहित जम्मा ६४ जनाले अनुमति लिएका थिए ।

यस मध्ये अघिकांशले आरोहण गरिसकेका छन् । यो वर्ष आरोहण गर्न जानेमा भारतबाट ५९ जना र चीनबाट ५४ जना रहेको पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार वर्षेनी आरोहण प्रतिस्पर्धामा भारत र चीन नै बढी हुने गरेको छ, नयाँ कीतिमान भएन । यो वर्ष आरोहणमा कामी रिता शेर्पाले २२ औं पटक आरोहण गरेर नर्या कीर्तिमान कायम गराउनु बाहेक अन्य विशेष कुनै कीर्तिमान कायम नभएको प्रवक्ता सापकोटाले बताए ।

यो बर्ष दुवै खुट्टा गुमाएका चिनका आरोहीले पनि सगरमाथा आरोहण गर्ने सफलता पाएका छन् ।

यस वर्षको वसन्त ऋतु आरम्भ भएपछि हालसम्म ३ सय ४० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । बसन्त ऋतु सकिन केही दिन बाँकी रहँदा अब एक(दुईजना आरोहीमात्रै चुचुरोमा पुग्न बाँकी छ ।

(स्रोत : रासस र अन्य एजेन्सी)

Share Now

Leave a comment.