Prakash Adhikari May 23, 2018

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सभापति एवम् संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कुनै पनि नयाँ पन नभएको बताएका छन् ।

संघीय संसदको प्रतिनिधि सभामा बुधबार सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले सो कुरा बताएका हुन् ।
आफ्नो संबोधनको क्रममा नेता देउवाले  सीमा रक्षा गरेर बसेका नेपाली जनतालाई पानाका पाना राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको बताएका छन्।

संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै देउवाले हिमाल, पहाड र तराईमा बसेका नेपाली राष्ट्रवादी रहेको बताए।

‘उत्तर दक्षिण र पूर्व पश्चिम हाम्रा सीमाना रक्षा गरेर बसेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूका लागि राष्ट्रवादबारे पानाका पाना पाठ पढाउन जरुरी छैन’, देउवाले संसदमा भने, ‘नेपाली जनता सबै राष्ट्रवादी छन्। चाहे हिमालमा बसेका हुन् चाहे पहाडमा बसेका हुन्, चाहे मधेशमा बसेका हुन् तिनीहरूले सीमा रक्षा गरेर बसेका छन्। उनीहरूलाई फेरि राष्ट्रवादको पाठ पढाउनु आवश्यक छैन।’

देउवाले संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्माननीय शब्द प्रयोग नगरेकोमा समेत असन्तुष्टी दर्ज गरे।

‘राष्ट्रपतिले सम्माननीय शब्द प्रयोग नगरे पनि म सम्माननीय शब्द प्रयोग गर्न चाहन्छु’, संसद बैठकको सुरूवातमा देउवाले रोष्टममा उभिएर भने। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सम्मानार्थी शब्द प्रयोग नगरेकोमा संशोधन समेत दर्ता गराएका छन्।

नीति तथा कार्यक्रमको विषयमा भने देउवाले लिखित रूपमै टिप्पणी गर्दै आलोचना गरे।

‘घोषित नीति तथा कार्यक्रममा बजेट कहाँबाट आउने? भन्ने उल्लेख छैन’, देउवाले भने, ‘राजनीतिक संक्रमण सकिएको छ। नेपालले पछिल्लो दुई वर्ष लगातार आर्थिक वृद्धिदर हासिल गरेको छ। यो सरकारलाई अवसर थियो। तर नीति तथा कार्यक्रममा कुनै नयाँपन छैन। सरकारसँग दूरदृष्टि नभएको हो वा नचाहेको हो? यस्तो ऐतिहासिक अवसर खेर फाल्न हुँदैन।’

उनले संघीयताको कानूनी र नीतिगत व्यवस्थापनका बारेमा प्रष्टता नभएको कर्मचारी व्यवस्थापनको विषय नसमेटिएको बताए।

‘नीति तथा कार्यक्रममा नीति छन् तर कार्यक्रम छैनन्। सिद्धान्त र प्राथमिकता पनि यस्तै रह्यो’, देउवाले भने।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक वर्षमा कति काम गर्ने? भन्ने उल्लेख नै नरहेको बताए।

‘एक वर्षमा यति गर्नेछु भन्ने लेखिएको कही पाइएन। योजना र कार्यक्रम बिनाको सपना मनोकामना मात्र हो’, देउवाले टिप्पणी गरे।

Share Now

Leave a comment.