Prakash Adhikari June 1, 2024

काठमाडौँ, १९ जेठ । देशभरका अस्पतालमा बिरामीले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले यसको समाधानका लागि एउटा विशेष समिति गठन गर्नुभएको छ ।

मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गर्नुभएको हो । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको छ ।

मन्त्री यादवले भन्नुभयो, “सङ्घीय अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको र उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको हो ।”

धेरै समयदेखि दुर्गम र टाढाबाट आउनुभएका बिरामीले शल्यक्रियाका लागि पालो नपाएको, उपचारमा ढिलाइ भएको र अस्पतालहरूले अन्य धेरै लापरबाही गरेको गुनासो आइरहेको छ । मन्त्री यादवले भन्नुभयो, “उहाँहरूलाई छिटोछरितो तरिकाले सेवा कसरी प्रदान गर्ने र अन्य सेवाहरू चुस्त दुरुस्त बनाउन तत्काल पहल गर्न आवश्यक कार्यबारे समितिले अध्ययन गर्ने छ ।”

समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको अनुगमन गर्नेछ । अनुगमनका क्रममा बिरामीहरूले शल्यक्रियाका लागि के–के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या र उहाँहरूले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिने छ । साथै समितिले अस्पतालबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाको विस्तृत अध्ययन गर्नेछ । ओपिडी सेवा हेर्ने चिकित्सकको सङ्ख्या, उहाँहरूले दैनिक रूपमा हेर्ने बिरामीको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि सङ्कलन गर्ने छ ।

स्वास्थ्य सेवा पहुँचमा समानता, समयबद्धता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको समितिले स्वास्थ्य सेवामा सुधारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र आवश्यक सुधारका लागि ठोस कार्य योजनाहरू प्रस्तुत गर्ने मन्त्री यादवले बताउनुभयो । समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिनुभयो ।

Share Now