Prakash Adhikari June 2, 2024

ड्याल्लास(टेक्सास, संयुक्त राज्य अमेरिका), २० जेठ । वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसीसी टी २० विश्वकपको उद्घाटन खेलमा सहआयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ ।

टेक्सासको ड्याल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा अमेरिकाले क्यानाडामाथि ७ विकेटको लोभलाग्दो जित दर्ता गरेको हो ।

खेलमा टस जितेर फिल्डिड. रोजेको अमेरिकाले क्यानाडाले दिएको १ सय ९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेटको क्षतिमा हासिल गर्यो ।

अमेरिकाको जितमा आरोन जोन्सले ९४ रनको योगदान गरे । उनले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा अविजित ९४ रन बनाएका थिए । त्यस्तै आन्द्रेश गोउसले ४६ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६५ रन जोडे । अमेरिकाका लागि क्याप्टेन मोनांक पटेलले १६ र कोरि एण्डरसनले ३ रनको योगदान दिए । ओपनर स्टेभन टेलर शून्य रनमा आउट भए ।

अमेरिकालाई रोक्ने क्रममा क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान एक एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो ।

२० ओभरको निर्धारित खेलमा क्यानडाले ५ विकेटको क्षतिमा १ सय ९४ रनको उच्च स्कोर बनायो । क्यानडाका लागि नवनित धाडिवालले ६१,निकोलास किर्तनले ५१, श्रेयस मुभले ३२, आरोन जोन्सनले २३, दिलप्रित बज्वाले ११ र डिलोन हेलिड.गरले १ रनको योगदान गरे ।

क्यानडालाई रोक्ने क्रममा अमेरिकाका अलि खान,हरमित सिंह र कोरी एण्डरसनले एक एक विकेट लिए ।

अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् ।

विश्वकपको दोस्रो खेलमा आईतवार नै नेपाली समय अनुसार बेलुका ७ः१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी भिड्दै छन्।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा रहेको नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससंग खेल्ने छ ।

आईसीसी पुरुष टी २० विश्वकप २०२४ को समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

Share Now