Prakash Adhikari June 5, 2024

जनकपुरधाम(धनुषा), २३ जेठ । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार ढलेको छ।

बुधबार जनकपुरस्थित मधेस प्रदेश सभामा बसेको बैठकमा आवश्यक संख्यामा विश्वासको मत नपाएपछि यादवको सरकार ढलेको हो।

मधेश प्रदेशको १ सय ७ सदस्यीय सभामा उहाँले राखेको प्रस्तावको पक्षमा जम्मा ५० मत परेको छ भने विपक्षमा ५३ मत खसेको थियो।

सरकारको पक्षमा नेपाली कांग्रेस २२, जसपा १९, लोकतान्त्रिक समाजवादी पार्टी ९ ले मात्र मत दिए। यो सबै जोड्दा ५० मत भयो ।

प्रदेश सभामा विश्वास गुमाएपछि २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका यादवको सत्ता ढलेको छ।

मुख्यमन्त्री यादवले संसदमा विश्वास गुमाउने थाहा पाएरै २८ गतेका लागि नयाँ मिति प्रस्ताव गरेर प्रदेश सभामा निवेदन पत्र गराउनुभएको थियो।

तर, सभामुख रामचन्द्र मण्डलले २४ घण्टा अगाडि सार्ने जानकारी दिनुपर्ने तर्क गरेर विश्वासको मत लिन लगाउनुभएको थियो।

दोस्रोपटक बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मतको प्रस्ताव राख्नुभयो । जसमा मतविभाजन हुँदा उहाँले आवश्यक मत पाउन सक्नुभएन ।

१७ महिनाअघि जसपाका नेता यादवलाई एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदले समर्थन गरेर सत्तामा पुर्‍याएका थिए। अहिले तिनै दलले समर्थन फिर्ता लिँदा उहाँको सरकार ढल्न पुग्यो।

एमाले र माओवादीले वैशाख ३० गते यादव नेतृत्वको सरकारबाट फिर्ता हुँदै समर्थन झिकेका थिए । मुख्यमन्त्री यादवलाई एकीकृत समाजवादीले समर्थन गर्ने विश्वास थियो । तर जेठ २२ देखि एकीकृत समाजवादीले पनि दुई मन्त्री फिर्ता गर्दै समर्थन फिर्ता लिने निर्णय लियो। त्यसपछि उहाँको सत्ता धर्मरायो ।

यादव २०७९ मंसिरमा सम्पन्न चुनावमा बारा १(२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएका हुनुभएको थियो।

उहाँ सो प्रदेशका पूर्वसभामुख पनि हुनुहुन्छ ।

Share Now