धनुषा, २५ जेठः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उहाँले शपथग्रहण गर्नुभएको हो । यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ मन्त्रिमण्डल गठन गर्नुभएको हो ।
मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त हुनुभएको छ ।
त्यस्तै, नेकपा (एमाले) बाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट संसदीय दलका नेता नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, बेची लुङ्गेली ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री, नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।
उहाँहरू सबैले आजै शपथ ग्रहण गर्नुभएको छ ।
प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड
आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड र समानुपातिक सदस्यलाई रु एक करोड ५० लाख बजेट चलाउन दिने निर्णय गरेको अर्थमन्त्री भरत साहले जानकारी दिनुभयो ।
बैठकले मधेस सरकारको गृह मन्त्रालय मातहत रहेको सहिद प्रतिष्ठानमार्फत सहिद परिवारका लागि राहत र वृत्तिविकास तथा सङ्घीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रम ल्याउने घोषणा पनि गरेको छ ।
साथै बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास ‘मोडल’ लागू गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने र मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाका रुपमा एक÷एकवटा खुला शैक्षिक पार्क तयार गर्ने निर्णय पनि गरिएको छ ।
त्यस्तै, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैङ्कका रुपमा परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने, दिगो मधेस विकासको योजना तयार गरी स्वदेशी एवं वैदेशिक लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलनको आयोजना गर्ने आजको वैठकले निर्णय गरेको छ ।
मधेसमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारितालाई प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने एवं मधेसमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारको दुर्घटना बीमा गर्ने र मधेस प्रदेशमा खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाका रुापमा रङ्गशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको छ ।