पोखरा(कास्की), २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा विश्वासको मत पाउनुभएको छ ।
आज अपरान्ह भएको विश्वासको मतमाथिको प्रस्तावमा मतदान हुँदा सरकारको पक्षमा नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत परेको थियो । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा ३१ मत परेको थियो ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जित्नुभएका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गर्नुभएको थियो।
सांसद देवकोटाले माओवादी केन्द्रको संसदीय दलको ह्विप लत्याउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो ।
२७ सांसद रहेका कांग्रेस संसदीय दलका नेताले असम्भव जस्तो मानिएको प्रदेश सभामा बहुमत जुटाउनुभयो । विपक्षमा भने २८ सांसद उभिएका छन्।
देवकोटाले फ्लोर क्रस गरेपछि विपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीसहितले प्रदेशसभा बैठकमा नाराबाजीसमेत गर्नुभएको थियो।
त्यस्तै, स्वतन्त्र सांसद दीपक मनाङले पनि कांग्रेस नेतृत्वको सरकारको पक्षमा मतदान गर्नुभयो । यसअघि उहाँ पनि एमाले सम्मिलित मोर्चामा रहनुभएको थियो ।


















