Prakash Adhikari June 13, 2024

काठमाडौं, ३१ जेठ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत हकप्रद दिने भएकोे छ । आज जेठ ३१ गते बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाण्डौंमा सम्पन्न बिशेष साधारण सभाले सो हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको हो ।

नेपाल बीमा प्राधिकरणले कम्पनीको न्यूनतम चुक्ता पूँजी असार मसान्तसम्म रु.२ अर्व ५० करोड कायम गर्न निर्देशन दिएकोले कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न प्राधिकरणबाट सैद्धान्तिक सहमति समेत लिएको थियो ।

विशेष साधारण सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापकको तर्फबाट तीन जना, सर्वसाधारणको तर्फबाट तीन जना र स्वतन्त्र संचालक एक जनाको प्रतिनिधित्व हुने गरी कम्पनी ऐन बमोजिम एक जना महिला संचालक समेत समावेश हुने गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन पनि गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको हाल चुक्ता पूँजी रु.२ अर्ब १० करोड रहेकोमा १५ प्रतिशत शेयर जारी गरेपछि रु.२ अर्ब ४१ करोड ५० लाख पुग्ने छ ।

साविकका युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकापसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सले यही जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २ लाख २ हजार ६ सय १८ रहेको छ भने यसले बीमाशुल्क वापत २ अर्व ४६ करोड ७८ लाख ७७ हजार ९ सय ४९ रुपैया आर्जन गरेर तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २ सय १५ रुपैया खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा ८ हजार १ सय ८१ वटा दावीको १ अर्व २६ करोड ६४ लाख ९४ हजार ५ सय ६८ रुपैया दाबी भुक्तानी गरेको छ । यसले कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या ३ हजार ७ सय ३७ कायम गर्न सफल भएको छ।

Share Now