फ्लोरिडा(संयुक्त राज्य अमेरिका), १ आषाढ । आइसीसी टी २० विश्वकपका लिग चरणका खेलमा अप्रत्यासित नजिता निस्कने क्रम जारी छ ।
यसैक्रममा सहआयोजक संयुक्त राज्य अमेरिका आफ्नो पहिलो सहभागितामा समूह ए बाट उपविजेताको रुपमा दोस्रो चरणको सुपर ८ मा प्रवेश गर्न सफल भएको छ ।
अमेरिका र आयरल्यान्ड बीच शुक्रबार फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो ।
उता दुवै टोलीले अंक बाँडेपछि साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो पहिलो खेलमा अमेरिका विरुद्ध पराजित भएको पाकिस्तान यसपटक दोस्रो चरणमा नपुगी इस्लामाबाद फर्किने छ ।
समूह ए मा भारत ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । अमेरिकाको आजको नतिजा पछि ४ खेलमा ५ अंक पुगेको छ । पाकिस्तानको भने ३ खेलमा २ अंक मात्र रहेको छ । आफ्नो अन्तिम खेलमा जित हासिल गरेपनि पाकिस्तानले अमेरिकाको अंक संख्या पुर्याउन सक्ने छैन । पाकिस्तानले अब आयरल्याण्डसंग खेल्न बाँकी छ ।
यस्तै क्यानाडाको पनि ३ खेलमा २ अंक रहेको छ भने आयरल्यान्डको ३ खेलमा शून्य अंक छ । क्यानडाले भारतसंग खेल्न बाँकी छ ।


















