किंग्सटाउन(सेन्टभिसेन्ट), ३ आषाढ । आईसीसी टी २० विश्वकप अन्तरगत आज भएको नेपाल र बंगलादेशबीचको खेलमा नेपाल २१ रनले पराजित भएको छ ।
समूह चरणमा अन्तिम खेलमा पराजित भएसंग नेपालको विश्वकप यात्रा समाप्त भएको छ । नेपाली टोलीसंग टेष्ट राष्ट्रसंग खेलियो र अनुभव बटुलियो भन्ने बाहेक अन्य गर्व गर्न लायक कुरा रहेन । यद्यपि विश्वकपको समूह चरणमा खेलिएका ३ खेलमा नेपालका बलर कुशल भूर्तेले ४ विकेट लिएर आफूलाई अल राउण्डर सावित गर्ने मौका पाए भने नेपालका चर्चित बलर सन्दीप लामिछानेले बंगलादेशसंगको खेलमा २ विकेट लिएसंगै टी २० अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने प्रथम नेपालीको स्थान सुरक्षित गरे ।
आज नेपाली बलरहरुले राम्रो प्रदर्शन गरेका हुन् । बंगलादेशजस्तो टेष्ट राष्ट्रलाई १ सय ६ रनमा सीमित गर्न उनीहरुको राम्रो उपलब्धि हो । तर नेपालको ब्याटिड. सुधारिएको भने यो विश्वकपमा देख्न पाइएन । नाम चलेका सबै ब्याटरहरु चौका छक्का ठोक्ने असफल प्रयासमा क्याच आउट हुन पुगे ।
सिन्टभिसेन्टको क्रिकेट मैदानमा टस जितेर फिल्डिड. रोजेको नेपालले बंगलादेशबाट १ सय ७ रनको लक्ष्य पाएको थियो । तर २० ओभरको निर्धारित खेलमा नेपालले जम्मा ८५ रन मात्र जोड्न सक्यो र २१ रनले पराजित भयो ।
नेपालको समूह चरणको अन्तिम खेलमा कुशल मल्लले सर्वाधिक २७, दीपेन्द्रसिंह ऐरीले २५,आशिफ शेखले १७, कुशल भूर्तेलले ४ तथा क्याप्टेन रोहित पौडेल र सन्दीप जोराले एक एक रनको योगदान गरे । अनिल साह,गुल्शन झा, सोमपाल कामी,र अभिनास बोहरा शून्य रनमा नै आउट हुन पुगे । सन्दीप लामिछाने शून्य रनमा नटआउट रहे ।
नेपाललाई रोक्ने क्रममा बंगलादेशका तन्जिम हसन सकिवले ४,मुस्ताफिर रहमानले ३,सकिन अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।
यस अगाडि आईसीसी टी २० विश्वकप २०२४ मा समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धी बंगलादेशबाट नेपालले १०७ रनको लक्ष्य पाएको थियो । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो ।
नेपालको बलिङसामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।
ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।
नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुआत गरे । सर्ट बल ठूलो सट खेल्ने धुनमा तान्जिद हसन कट एण्ड बोल्ड आउट भएका हुन् । अन्तिम बलमा लिटन दासलाई अम्पायरले शून्यमा एलबीडब्लू आउट दिएका थिए । तर रिभ्युको कारण दास बच्न पुगे ।
अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे । सोमपालको पाँचौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा लिटन दास एज लागेर विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भएका थिए ।
कप्तान रोहित पौडेलले तौव्हीद ह्दोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराएपछि बंगलादेश ५।४ ओभरमा ३० । ४ को अवस्थामा पुगेको थियो ।
अनुभवी ब्याटर महमुदूल्लाह रियाद १३ रनमा रन आउट भए । रोहितको बलमा सकिब अल हसन एलबीडब्लू आउट भएपछि बंगलादेश ११।४ ओभरमा ६१।६ को अवस्थामा पुगेको थियो । त्यसपछि पनि बंगलादेशले निरन्तर विकेट गुमायो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३।२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।


















