Prakash Adhikari July 2, 2024

 

काठमाडौं, १८ आषाढ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति अन्तिम चरणमा पुगेको छ । सोमबार राति दुई दलबीच गठबन्धन सरकार निर्माणको सहमति समेत भएको छ ।

सुरुमा ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको सो बैठकले सहमतिको मस्यौदा तयार पारेर शीर्ष नेताहरुलाई ब्रिफिड. गरेपछि त्यसलाई अन्तिम रुप दिन शीर्ष नेताहरु सहित मस्यौदाकारहरु महाराजगञ्जमा एक व्यवसायीको घरमा बसेका थिए ।

सायद ३ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

नेताहरुको समझदारी अनुसार दुई दलबीच आलोपालो सरकारको नेतृत्व हुने छ । पहिलो चरणमा दुई बर्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुृहुने छ । बाँकी समय चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हाल्नु हुने छ । सुरुमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । यसको लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा एक संविधान संशोधन सुझाव समिति गठन गरिने भएको छ ।

प्रदेश सरकारको नेतृत्व कांग्रेसले ३ र एमालेले ३ वटा गर्ने सहमति गरेका छन्। मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्वमा कांग्रेस र एमाले सहभागी हुने संभावना छ ।

दुवै दलहरुले संविधान संशोधनको बूँदाहरु समेत तयार गरेका , जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।

प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ ।

प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ ।

। यो सहमतिमा हस्ताक्षरसंगै नेकपा एमालेले नेकपा माओवादी केन्द्रसंगको गठबन्धन तोडिएको जानकारी दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिने छ र सरकारमा रहेका आफ्ना प्रतिनिधिहरु फिर्ता बोलाउने छ । संभवत त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिनुहुने छ । अनि मात्र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ ।

Share Now