गलेश्वर (म्याग्दी), २४ असार: पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।
पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।
पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको थियो ।
यसैबीच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिनुभयो । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उहाँले बताउनुभयो ।
फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्ने सांसद गर्बुजाले बताउनुभयो । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
“यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, सांसद गर्बुजाले भन्नुभयो ।
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द
गलकोट (बागलुङ) । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ ।
करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताउनुभयो । करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ ।
कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध
मान्म (कालीकोट) । वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको पहिरो अझै पन्छाउन सकिएको छैन ।
यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।
पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुयभो ।
“केही ठाउँमा घर भत्किएको खबर आएको छ”, उहाँले भन्नुभयो–“बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।”
पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध
दमौली (तनहुँ) । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।
बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुङ्गा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिराले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ । मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन । सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।” केही ठाउँमा ठूला ढुङ्गा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उहाँको भनाइ छ ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन ।” सम्बन्धित निकायबाट पहिरा हटाएर बाटो खुलाउने आश्वासन पाएको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँं नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास नगरपालिका–१३ को सोढेसम्म दश किलोमिटर कालोपत्रको तयारी गरेको छ ।
उक्त मार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको सम्पन्न पश्चात् बाटो छोटिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।
ग्रामीण सडक अवरुद्ध
केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिराले अवरुद्ध तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिराका कारण शुक्लागण्डकी नगरपालिका–११ कालीकोट सडकखण्ड अवरुद्ध भएको छ । यस्तै सोही वडाको राइपुर साँखे सडक पहिराका कारण अवरुद्ध भएको छ ।
घिरिङ गाउँपालिकास्थित विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको छ । उक्त ठाउँको गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् । भीमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यो वडा हुँदै जाने भीमकाली सडक, मिर्दी सडक, किहुँ सडक, उत्तर दक्षिण सडक, बिरुवा सडक, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ सडक तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।
—
—