Prakash Adhikari July 9, 2024
काठमाडौं, २५ आषाढ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई प्रवक्ता र केन्द्रीय सदस्यबाट समेत बर्खास्त गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका रास्वपा नेता मनिष झाले जानकारी दिनुभयो ।

उहाँका साधारण सदस्यता भने कायम छ ।

अनुशासन आयोगले ढकालमाथि साधारण सदस्य पनि नरहने गरी कारबाही सिफारिस गरे पनि केन्द्रीय समिति बैठकले भने उहाँलाई पदबाट मात्र हटाएको हो ।

महामन्त्रीको टुंगो भने आगामी बैठकले लगाउने उहाँले जानकारी दिनुभयो ।

ढकाललाई उक्त निर्णय चित्त नबुझेमा उहाँले ३५ दिनभित्र पार्टीमा पुनरावेदन गर्न सक्नुहुने छ।

यसअघि असार १९ गते बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै मुखमा कालो टेप लगाए बैठकमा बस्नुभएका ढकाललाई रास्वपाले महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो ।

पार्टीविरुद्ध गतिविधि गरेको र बैठकमा अराजकरुपमा प्रस्तुत भएको भन्दै केन्द्रीय समितिले उहाँलाई निलम्बन गरेको थियो ।

Share Now