Prakash Adhikari July 10, 2024

म्युनिख(जर्मनी), आषाढ २६ (एजेन्सी) । फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

म्युनिखमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

खेलको नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लिएको थियो । फ्रान्सका किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कोलो मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

युवाहरुको बर्चश्व रहेको स्पेनी टिमले फ्रान्सको खुसी धेरैबेर टिक्न दिएन । खेलको २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो ।

उनी युरोकप र विश्वकप जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फुटबल खेलमामा सबैभन्दा कम उमेरका गोल गर्ने खेलाडी हुन् । उनले यो गोल १६ बर्ष ३ सय ६२ दिनको उमेरमा गरेका थिए । जबकी ब्राजिलका सर्वकालीन महान फुटबलर पेलेले १७ बर्ष २ सय ३९ दिनमा यस्तो गोल गरेका थिए । मेक्सिकन खेलाडी म्यानुअल रोसासले १८ बर्ष ९३ दिनको उमेर यस्तो गोल गरेका थिए भने स्पेनकै गाभीले १८ बर्ष १ सय १० दिनको उमेरमा यस्तो गोल गरेका थिए ।

स्पेनले २५औं मिनेटमा अर्को गोल गर्यो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्सभित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो । उनले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिएर गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो ।

मध्यान्तर पहिले भएका तीन गोल नै खेलका निर्णायक गोल भए । दोस्रो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेनन् ।

स्पेनले अब भोलि हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।

तीन पटकको विजेता स्पेन चौथो पटक उपाधि चुम्ने खोजीमा छ ।

Share Now