-ईश्वर जोशी, सिमलताल र अशोक दाहाल, काठमाडौंबाट
२९ आषाढ(बीबीसी) । चितवनमा नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसमध्ये एउटामा सवार एक जनाको शव शनिवार फेला परेको र उनी भारतीय नागरिक भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
शव फेला परेको नारायणी नदीको गोलाघाट दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल छ।
शुक्रवार साँझ अँध्यारोका कारण स्थगित खोजी अभियान शनिवार बिहान सुरु भएको हो। घटनाको झन्डै ३२ घण्टासम्ममा पनि हराइरहेका दुई बस फेला पर्न सकेका छैनन्। अन्य यात्रुको अवस्था पनि अज्ञात छ।
देवघाटमा त्रिशूली र कालीगण्डकी मिसिएपछि नदीलाई नारायणी भनिन्छ।
सुरक्षाकर्मीहरूले शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका भन्ठानिएका कपडा मात्रै फेला पारेका थिए।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खोजीकार्यमा सबै सामर्थ्य प्रयोग गरिएको जानकारी दिनुभएको छ।
“सम्भावित सबै स्थानमा खोजी हुन्छ।।। पानीको तह, बहाव, धमिलोपनका कारण अन्यथा भएमाबाहेक हामीले आफ्नो सबै सामर्थ्य खोज र उद्धारमा लगाउँछौँ,” यादवले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो ।
सडकबाट नदीमा खस्दै गर्दा काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए। जीवित यात्रु जोगेश्वर राय, नन्दन दास र सुरज गुप्ता तीनै जनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ।
बस भएको सम्भावित स्थानबारे अनुमान
शुक्रवार नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले ‘र्याफ्टिङ बोट’, गोताखोर र पानीभित्र हेर्ने क्षमता भएको ड्रोनसहित विभिन्न उपकरण प्रयोग गरेर त्रिशूली नदीमा खोजी गरेका थिए।
खोजीको क्रममा वीरगन्जबाट काठमाडौंतिर जाँदै गरेको एन्जल बसको पर्दा र १० वर्षको बच्चाको ट्राउजर फेला परेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बीबीसी न्यूज नेपालीलाई जानकारी दिनुभएको छ।
“शुक्रवार जुन प्रकारका उपकरणहरू प्रयोग गरेर खोजी गरिएको थियो आज पनि तिनै उपकरण प्रयोग गरेर खोजी गरिरहेका छौँ,” प्रमुख जिल्ला अधिकारी चन्द्रदेव यादवले भन्नुभयो।
“हाम्रो देशमा नै भएका उपकरण योभन्दा बढी रहेनछन्। भएकै उपकरणहरू प्रयोग गरेका छौँ।”
बसको पर्दा र बच्चाको कपडा फेला परेसँगै नदीमा खसेका बसहरूको सम्भावित स्थान आकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो।
खोजीकार्यमा कति सुरक्षाकर्मी
भुसालले नदीले बगाएको हुन सक्ने आशङ्कामा त्रिशूलीको तल्लो तटीय क्षेत्रमा पनि खोजी कार्य भइरहेको बताउनुभयो।
“नदीको तल्लो भागमा बगाएर लगेको छ कि भनेर देवघाटसम्मको ठाउँमा खोजी कार्य भइरहेको छ,” भुसालले भन्नुभयो।
खोजी कार्यमा नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी कुल ५० गोताखोर र उनीहरूको सहयोगका लागि थप २०० सुरक्षाकर्मी परिचलान गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो।
त्रिशूली नदीमा पानीको सतह शुक्रवारभन्दा कम हुँदै गएका कारण अधिकारीहरूले अबको खोजी सहज हुने आकलन गरेका छन्।
नदीमा हराइरहेका बसका यात्रुका आफन्तहरू प्रशासनको सम्पर्कमा आउन सुरु गरेको प्रहरीले जनाएको छ। हराइरहेकाहरूमध्ये कम्तीमा सात जना भारतीय नागरिकहरू रहेको प्रारम्भिक विवरण आएका छन्।
बसमा को थिए ?
बस सञ्चालकहरूले सार्वजनिक गरेको यात्रुहरूको सूचीमा केही भारतीय नागरिक पनि रहेको देखिन्छ।
अरू यात्रुमध्ये अधिकांश रौतहट र पर्सा जिल्लाका बासिन्दा हुन्।
वीरगन्जबाट काठमाडौंका लागि हिँडेको बसमा सात भारतीय नागरिकले र काठमाडौंबाट गौरका लागि हिँडेको बसमा दुई भारतीय नागरिकले टिकट किनेको बताइएको छ।
उनीहरू सबै भारतको बिहार राज्यका हुन्।
गौर र वीरगन्ज दुवै भारतको सीमानजिकै अवस्थित सहर हुन्।