Prakash Adhikari July 16, 2024

काठमाडौँ, १ साउन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त प्रधानमन्त्री के.पी. शर्मा ओली, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र परराष्ट्र मन्त्री डा. आरजू देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरका नयाँ सरकारसंग निकटसम्बन्ध राखी काम गर्न भारत इच्छुक रहेको उहाँले बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीसंग सोमबार भेट गर्नुभएको थियो । सोमबार उपप्रधान तथा शहरी विकास मन्त्री सिंह र परराष्ट्र मन्त्री डा. राणालाई भेट गर्नुभएको हो ।

राससका अनुसार उपप्रधानमन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले राससलाई बताउनुभयो । भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री राणासँग भेट

परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ । त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु थियो ।

परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गर्नुभएको हो ।

Share Now