Prakash Adhikari July 21, 2024

मकवानपुर, ६ साउनः बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्योलता भएकामा आज बिहान हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । लामा संसदीय दलको नेता हुनुहुन्छ । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद हुनुहुन्छ ।

प्रदेश सभापति एवं सांसद बानियाँले संविधानको धारा १६८ (२) अनुुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार पनि मुख्यमन्त्रीका लागि आकाङ्क्षा राख्नुभएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा
 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्नुहुँदै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले विश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गर्नुभयो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिनुभएको थियो । प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गर्नुभयो ।

Share Now